सिरहामा होटल चलाउँदै आएकी महिलाको घरभित्रै हत्या, प्रहरीले थाल्यो अनुसन्धान

सिराहाको गोलबजारमा एक महिलाको आफ्नै घरभित्र हत्या भएको छ । गोलबजार नगरपालिका–६ का महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षीय अनिताकुमारी साहको शव धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा घरभित्रै भेटिएको हो ।

स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटल सञ्चालन गर्दै आएको साह दम्पती मात्र घरमा रहेको बेला धारिलो हतियारले गर्धन काटिएको र सिलौटो टाउकोमाथि बजारिएको अवस्थामा घरभित्र सुत्ने खाट नजिकै शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जानकारी दिएको छ । घटनाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । धनुषाको लालगडबाट ल्याएको प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिरहेको छ ।

राति अबेर अनिताको श्रीमान महेन्द्र आत्तिएर बाहिर आएको थाहा पाएपछि छिमेकीले घटनाबारे जानकारी पाएका थिए । साह आत्तिएर बेहोस भएपछि छिमेकीले नै उनलाई अस्पताल पुर्‍याए लगतै घटनाबारे प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । महेन्द्र साह यसअघि पनि आपराधिक घटनामा जेल परेको स्थानीयले जानकारी दिएका छन् । घटनामा श्रीमान शंकाको घेरामा रहेको बताइएको छ ।

 
 
  
 

You may also like