एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनलमा नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य

by समतल अनलाइन

काठमाडौं । एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपालले मलेसियासामु १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । बायुमास ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १५ रन जोड्यो । नेपालले यो खेल जितेर प्रिमियर कपको फाइनलमा पुगेसँगै महिला एसिया कपमा पनि स्थान बनाउनेछ ।

नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक २९ रनको योगदान दिइन् । ओपनर कविता कुँवरले २३ तथा रुविना क्षेत्रीले २० रन जोडिन् । डली भट्टले १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको योगदान दिइन् ।

नेपालले ओपनर सीता रानामगरलाई ६ रनमा गुमाएको थियो । महिराह इजाती इस्लामीको बलमा सीता एलबीडब्लू आउट हुँदा नेपाल ४ ओभरमा १०–१ को अवस्थामा थियो ।
दोस्रो विकेटका लागि इन्दु र कविताले ३५ रनको साझेदारी गरे । इन्दु एक रनको लागि नदौडिएपछि कविता रन आउट भएकी थिइन् । कविता ३१ बलमा २ चौकासहित २३ रन आउट भइन् । रुविना १८ बलमा २ चौकासहित २० रनमा आउट भइन् ।

मलेसियाकी महिराह इजाती इस्मालीले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । विनिफ्रेड दुराईसिंघमले १ विकेट लिइन् । यस खेलको विजेता टोलीले यसैवर्ष हुने महिला टी-२० एसिया कप खेल्न पाउनेछ ।

नेपालको प्लेइङ

कविता कुँवर, सिता रानामगर, इन्दु वर्मा, रुविना क्षेत्री, अप्सरी बेगम, डली भट्ट, कविता जोशी, काजल श्रेष्ठ, विन्दु रावल, रोमा थापा, संगीता राई

 
 
  
 

You may also like