लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पहिलोपटक क्याथ ल्याब सेवा सुरु

by समतल अनलाइन

बुटवल । मुटुका विरामीहरुको उपचारमा प्रयोग हुने क्याथ ल्याब सेवा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पहिलो पटक सुरु भएको छ । क्याथ ल्याब सेवा सन्चालन गर्ने भनेर डेढ वर्षअघि ६ करोड मूल्य बराबरका मेशिन र उपकरण जडान गरिए पनि विशेषज्ञ चिकित्सक अभावमा सेवा सुरु हुन सकेको थिएन । नेपाल सरकारको छात्रवृत्ति पाएर अध्ययन पूरा गरेका दुईजना चिकित्सक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अर्जुन बुढाथोकी र डा.रोशन घिमिरे करारमा अस्पतालमा आएपछि यो सेवा शुरु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुदर्शन थापाले बताए ।

थापाका अनुसार देशभरका प्रादेशिक अस्पतालमध्ये लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलोपटक यो सेवा शुरु भएको हो । पहिलो दिन अस्पतालमा आएका २ जना बिरामीको उपचार गरेर सेवा सञ्चालनमा ल्याइएको थापाले बताए ।

चिकित्सकहरुका अनुसार मुटुका विरामीहरुको उपचारमा एन्जिओग्राम र एन्जिओप्लाष्ट गर्न क्याथ ल्याब चाहिन्छ । सरकारी अस्पतालमा क्याथ ल्याब नहुँदा मुटुका विरामीहरु निजी अस्पतालमा महंगो शुल्क तिरेर उपचार गराउन बाध्य थिए ।

अब सरकारी अस्पतालमै क्याथ ल्याब सेवा सञ्चालनमा आएपछि दैनिक सरदर ६० जना मुटु रोगका बिरामी लभान्वित हुने अस्पतालले जनाएको छ । अस्पतालमा आएका मुटुको समयस्याका बिरामीहरुमध्ये सरदर १२ प्रतिशतमा एन्जियोप्लाष्ट वा एन्जियोग्राम गर्नुपर्ने अवस्था देखिएको अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा. थापाले बताए ।

लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले क्याथ ल्याब सञ्चालनको लागि चालु आर्थिक वर्षमा २२ करोड रुपैयाँ विनियोजन गरिदिएपछि भने सहज भएको डा. थापाले बताए ।

क्याथ ल्याबमा सिमेन आरसीटी एस मेसिन रहेकाले यसले मुटुसम्बधी रोगको छिटो पहिचान र सबै उपचार गर्न सकिने कार्डियोलोजी विभागका जनस्वास्थ्य निरीक्षक रामप्रसाद अर्यालले बताए ।क्याथल्याब सञ्चालनका लागि २ जना विशेषज्ञ चिकित्सक, २ स्टाफ नर्स, एकजना एनेस्थेसिया र एकजना हेल्पर गरी ८ जना जनशक्ति छन् ।

 
 
  
 

You may also like