नमस्ते एकेडेमीमा पुस्तक विमोचन र साहित्यिक महोत्सव सम्पन्न

by समतल अनलाइन

रुपन्देही।ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित नमस्ते एकडेमीमा सरस्वती पूजाका अवसरमा फागुन २ गते विविध साँस्कृतिक कार्यक्रम सहित नयाँ विद्यार्थीहरुको अक्षरारम्भ, पुस्तक विमोचन तथा साहित्यिक महोत्सव सम्पन्न भएको छ ।
ब्रिटिस एजुकेसन ग्रुपका स्कुल हेड अरुण कँडेलको सभापतित्व , वरिष्ठ बाल साहित्यकार प्राध्यापक डाक्टर कपिलदेव लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुस्तक विमोचनका साथमा विद्यार्थीहरुले विविध नृत्य , गायन , कविता वाचन , स्टोरी टेलिङ , प्यानल डिस्कसनका साथमा साहित्यिक व्यक्तित्वहरूले नमस्तेका साहित्य अनुरागी विद्यार्थीहरुसित छलफल गरेको विद्यालयका प्राचार्य जिम्मे शेर्पाले जानकारी दिए ।

साहित्य समाजको ऐना हो । बालबालिका यसका बिम्ब हुन ।यसले विद्यार्थीलाई सृजनशील बनाउँछ । जीवन बुझाइ सफलताको बाटो पहिल्याउछ । यसै कुरालाई मनन गरी यो कार्यक्रम आयोजना गरिएको हो प्राचार्य शेर्पाले भने ।
साहित्यिक महोत्सव कार्यक्रमको पहिलो सत्रमा साहित्यक परिचर्चा सम्पन भयो । साहित्यिक परिचर्चामा बरिस्ठ बाल साहित्यकार कपिलदेव लामिछाने , शिक्षक सुरज घिमिरे र विद्यार्थी बृहत् पोखरेलले भाग लिएका थिए भने यसको सहजीकरण विद्यार्थी अनुष्का रावतले गरेकी थिइन । परिचर्चामा बोल्दै बरिस्ठ साहित्यकार लामिछानेले नमस्ते एकेडेमी र यसले ससाना बालबालिकामा साहित्य रस जगाउने उदेश्यले आयोजना गरेको कार्यक्रमको मुक्त कण्ठले प्रशंसा गर्दै आफूले लेखेका एक दर्जन बढी पुस्तक विद्यालयलाई उपहारस्वरूप प्रदान गर्नु भयो । बाल्यकाल बाट नै यस किसिमको माहोल बनाउन सके विद्यार्थी कलामा पोख्त हुने उहाँले बताउनु भयो।
कार्यक्रममा मूलत पुस्तक लेखनका आयाम , विद्यार्थीको साहित्य लेखन कला र अनुभूति विषयमा विद्यार्थी र साहित्यकार विचमा छलफल भएको थियो । साहित्यिक महोत्सवमा नेपाली साहित्यको आयाम , बाल साहित्य ,साहित्यमा बालबालिकाको भूमिका ,लेखक कसरी बन्ने ,आर्ट अफ स्टोरी टेलिङ्गको महत्व र शैली, कविता वाचन कला शीर्षकमा साहित्यकार र विद्यार्थी बिचमा परिचर्चा भएको सह प्राचार्य लिलामणि पाण्डेले जानकारी जानकारी दिए ।
अहिलेका बालबालिका साहित्यप्रति विशेष अभिरुचि राख्दछन् । उनीहरुका श्रृजनाको प्रदर्शनी पनि यो महोत्सवको विशेष आकर्षण रह्यो । पठन संस्कृतिप्रति पनि नमस्तेका बालबालिका उत्साहित रहेका छ्न । स साना विद्यार्थीले आफूले लेखेका साहित्यिक सृजना समेत उपस्थित अभिभावक र साहित्यनुरागीका बिचमा वाचन तथा प्रस्तुत गरे ।
कार्यक्रमको दोस्रो सत्रमा
नमस्ते एकेडेमीकी कक्षा ९ मा अध्ययनरत विद्यार्थी श्रेयसी पन्थीले सृजना गरेको पुस्तक Shape your life को विमोचन प्रमुख अतिथिबाट गरिएको थियो भने उक्त पुस्तकको समीक्षा र लेखिकासँगको परिसम्बाद विद्यार्थी कक्षा १२ का सायस रुपाखेतीले गरेका थिए । कार्यक्रममा श्रेयसी पन्थीका माता पिता बिन्दु पन्थी र भरत पन्थीेले हर्षबिभोर सहित १३ वर्षकी छोरीले गरेको यो उपलब्धि सबैका लागि अनुकरणीय रहेको र नमस्ते एकेडेमी बालबालिकाको पहिलो घर भएको उल्लेख गरे । आज बाट बाल लेखिका बनेकी छोरी र विद्यालयको केमिस्ट्री मिलेको विचार व्यक्त गरे । महोत्सवमा विद्यार्थीका रुचि र स्तर अनुसारका पुस्तक प्रदर्शनी समेत भएको संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए ।

नेपाली संस्कृति, कला ,साहित्य, भेषभुषा र परम्पराको जगेर्ना गर्ने उद्देश्य सहित आयोजना भएको कार्यक्रमले विद्यार्थीको गीत , सङ्गीत , कला र लेखनमा निरन्तर रुपमा लाग्नुको परिणाम रहेको स्कुल हेड अरुण कँडेलले बताए।
प्रिस्कुल देखि १२ कक्षा सम्मका विद्यार्थी , अभिभावक , अक्षरारम्भका लागि पाल्नु भएका ससाना विद्यार्थी एवम अभिभावक , पत्रकार र साहित्यनुरागी महानुभावको उपस्थिति रहेको महोत्सवमा विद्यार्थीले कला , गला , अनुभव , अनुभूति , कल्पना , नृत्य मार्फत आफ्ना साहित्यिक कर्महरु प्रस्फुटन गरेका थिए।

 
 
  
 

You may also like