आफूमाथि प्रहार भएको खोया घरमा सजाएर राख्ने रवि लामिछानेको घोषणा

by समतल अनलाइन

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार भएको छ । पोखराको अमरसिंह चौरस्थित खेल मैदानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा दर्शकदीर्घाबाट लामिछानेमाथि खोया प्रहार भएको थियो ।

मकैको खोया प्रहारपछि सभालाई सम्बोधन गर्दै लामिछानेले यो घटनाबाट प्रतिशोध नभई शिक्षा लिएको बताएका छन् । ‘म यो मकैको घोघा (खोया) लाई आफ्नो घरमा झुण्ड्याएर राख्नेछु । प्रतिशोध लिएर होइन, शिक्षा लिएर । नेपाली जनताले कत्रो अपेक्षा गरेका छन् हेर । यदि तैँले बाटो बिराइस् भने आज त घोघा पाइस् तैँले, यदि तैंले बाटो बिराइस् भने कल्पना गर के मात्र पाउँछस् भनेर मलाई चेतावनी दिइएको हो,’ सभापति लामिछानेले भने, ‘मैले यसलाई सकारात्मक रुपमा लिएको छु । मैले यसलाई मेरो सपना पूरा नहुने बेलासम्म जोगाएर राख्नेछु । कुहिन दिन्नँ, झर्न दिन्नँ ।’

उनले खोया प्रहार गर्ने ती युवालाई भेट्ने वाचा समेत सम्बोधनको क्रममा गरे । ‘म उहाँलाई भेट्न छिटै उहाँको घरमा जानेछु । उहाँको समस्या समाधान नभएको रहेछ भने म उहाँको समस्या समाधान गर्न अग्रपंक्तिमा लाग्नेछु,’ सभापति लामिछानेले भने ।

 
 
  
 

You may also like