एयर अरेबिया विमानको शौचालयमा शिशु जन्माएर निस्किएकी महिला आईसीयूमा

by समतल अनलाइन

काठमाडौं । एयर अरेबिया विमानको शौचालयमा मंगलबार (विहान) बच्चा जन्माएपछि त्यही छाडेर निस्किएकी महिलाको आईसीयूमा उपचार भइरहेको छ ।

उनलाई केएमसी अस्पतालमा भर्ना गरिएको छ । एयरलाइन्सका सरसफाइ कर्मचारीले नवजात शिशु शौचालयमा देखेपछि आमाको खोजी सुरु भएको थियो । विमानबाट ओर्लिएर अध्यागमनमा आइपुग्न लाग्दा प्रहरीले बच्चाकी आमालाई नियन्त्रणमा लिएको थियो । त्यतिबेला महिला निकै पीडामा देखिएकी थिइन् ।

त्यसपछि तत्कालै उनलाई अस्पताल पुर्‍याएर आईसीयूमा भर्ना गरिएको थियो । नवजात शिशुको भने मृत्यु भइसकेको छ । विमानका यात्रुले ती महिला लामो समय शौचालयमा बसेको बताएपछि प्रहरीलाई उनको पहिचान गर्न सहज भएको थियो । प्रारम्भिक अनुसन्धानमा महिला वैदेशिक रोजगारीबाट फर्किएको पाइएको छ । नवलपरासीको बर्दघाटकी ३० वर्षकी ती महिला अविवाहित हुन् ।

‘उनी बोल्न नमानेकाले अन्य कुरा बुझ्न बाँकी छ’, काठमाडौं प्रहरीका एक अधिकारीले भने । यूएईको शारजहाबाट बिहान ९ बजेर १० मिनेटमा एयर अरेबियाको विमान त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो । त्यसपछि सरसफाइ गर्ने क्रममा शिशु फेला परेको हो । अनुसन्धानका क्रममा ती महिला साढे ३ वर्षअघि वैदेशिक रोजगारीका लागि कुवेत गएको खुलेको छ । उनका आफन्तहरु सम्पर्कमा आइसकेका छैनन् ।

 
 
  
 

You may also like