बुटवलमा हुने लुम्बिनी एक्स्पोको सम्पूर्ण तयारी पूरा, ५० करोडको कारोबार गर्ने लक्ष्य

by समतल अनलाइन

बुटवल । बुटवलमा बिहिबारदेखि सुरु हुने लुम्बिनी एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ । रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ हुन लागेको एक्स्पोको पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले उदघाटन गर्ने भएका छन् ।

यहि पुसको १८ गतेसम्म हुने एक्स्पोमा ६ सय स्टल रहने छन् । जसमा होटल तथा रेष्टुरेन्टका -२३, उनी, गार्मेन्ट तथा तयारी पोशाकका -१४१, अन्तर्राष्ट्रिय-१०, कृषि-४३, ब्याग/जुत्ताचप्पल-६८, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी-७८, श्रृंगार, उपहार तथा खेलौना-५२, फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिक सामान-५३, बैंक/वित्तीय संस्था एवं शैक्षिक संस्था-१८, अटोमोवाइल्स, लुब्रिकेशन, टायर तथा पार्टस-६, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स-१६, आइसक्रिम तथा वेकरीज-१८, पुस्तक, किप, स्टेशनरी तथा स्पोर्टस-८, औषधिजन्य पदार्थ तथा कृषि उत्पादनका ६६ स्टल रहेको मेला मूल आयोजक समितिका संयोजक, रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी गराए ।

मेलामा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिईएको छ । मेलामा गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित प्रदेश भित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा एतिहासिक महत्व बोकेका सम्पदाहरु एवं स्थलहरुको प्रवर्द्धनात्मक प्रचारप्रसार गरिने पनि उनले बताए । कोरोनापछि बुटवलको व्यापार व्यवसायमा केही शिथिल भएको बेला यो मेलाले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि महत्वपूर्ण हुने आयोजकको दाकबी छ ।

एक्स्पोको उद्घाटनको पूर्व शन्ध्यामा मेला स्थल बुटवल मण्डपबाट बिभिन्न जात जाति, धर्म, समूदायको लोक संस्कृति झल्किने काझाँकी सहित जनचेतनामूलक र्याली गरिने छ । त्यस्तै मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती हने बताइएको छ ।

त्यसैगरी डान्स आइडल प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, विद्यालय स्तरीय वादविवाद प्रतियोगिता, र्याप गीत प्रतियोगिता र भजन प्रतियोगिता गराईने आयोजकले जमनकारी दिएको छ ।

 
 
  
 

You may also like