लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेह (सुगर) का बिरामीहरुका लागि छुट्टै क्लिनिक

by समतल अनलाइन

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेह (सुगर) का बिरामीहरुका लागि छुट्टै क्लिनिक सञ्चालनमा आएको छ । अस्पताल विकास समितिका अध्यक्ष जीवन वझाले सोमबार क्लिनिकको उद्घाटन गर्दै यस कार्यक्रमलाई थप बृहत बनाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष वझाले रोगका कारण अस्पताल आउनुभन्दा पहिले नै निवारण हुने गरी सचेतना समेत फैलाउनुपर्नेमा जोड दिए । अस्पतालमा थप गरिएको सानो सेवाले पनि ठूलो परिवर्तन ल्याउन सक्ने उनले बताए । त्यसै गरी अस्पतालका चिकित्सक तथा कर्मचारीहरुलाई सेवाग्राहीसँग विनम्र र हसिलो अनुहारले सेवा दिन उनले आग्रह गरे । बिरामीप्रति गरिने व्यवहारले नै उनीहरुको ५० प्रतिशत रोग निको हुन सहयोग पुग्ने बताउँदै वझाले नम्र व्यवहार र सेवामा जोड दिए । क्लिनिक सञ्चालनको अवसरमा अध्यक्ष वझासहित अस्पताल कर्मचारीहरुले समेत मधुमेहको परीक्षण गरेका थिए ।

क्लिनिक उद्घाटनको अवसरमा बोल्दै अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा. सुदर्शन थापाले छुट्टै क्लिनिक सञ्चालनसँगै मधुमेहका बिरामीका लागि सहज हुने उल्लेख गरे । एउटै बिरामीले २ दिनसम्म समय खर्चिनुपर्ने अवस्थाको अन्त्यका लागि यो सहयोगी हुने उल्लेख गरे । क्लिनिकबाट अब दैनिक १ सय बढीले सेवा लिन सक्ने बताए ।

क्लिनिकमा बिहान ७ बजेदेखि नै ल्याव टेस्टका लागि नमूना संकलन गरिने बताउँदै डा. थापाले अन्य सेवाहरुसहित अब दैनिक ३ सय जनालाई प्रयोगशालाबाट सेवा प्रदान गर्न सकिने उल्लेख गरे । अस्पतालमा दैनिक ५० जना बढी मधुमेहका बिरामीहरु परीक्षणका लागि आउने गरेकोमा अब यसको संख्यामा वृद्धि हुने उल्लेख गरे । अस्पतालका प्रशासकीय अधिकृत राजन केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 
 
  
 

You may also like