अहिले भाषण गर्ने भन्दा पनि काम गरेर देखाउने बेला हो : सभापति देउवा

by समतल अनलाइन

बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले भाषण गर्ने भन्दा पनि काम गरेर देखाउने बेला भएको बताएका छन् ।

शनिबार बुटवलमा नेपाली कांग्रेस लुम्बिनीकाे प्रदेश सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले अहिले भाषण गर्ने प्रतिस्पर्धा गर्ने समय नभएर काम गरेर देखाउने बेला भएको बताएका हुन् ।

सम्मेलनमा निकै छोटो समय बोलेका देउवाले भने, ‘कम बोल्ने काम बढी गर्नेछु । बोल्ने भन्दा काम गरेर देखाउनुपर्छ ।’ उद्घाटन समारोह अघि नेताहरूले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने, प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखेको थिए । देउवाले आफू मिलेर काम गर्न तयार रहेको स्पष्ट पारे । ‘चन्द्र भण्डारीको भाषण सुनियो। उहाँसँगै काम गर्नेछौँ’, उनले भने ।

सभापति देउवाले बुद्धजन्मस्थल लुम्बिनीबाट सुरु भएको सम्मेलनले पार्टीलाई बलियो बनाउने विश्वास ब्यक्त गरे ।

देउवाले एयरपोर्ट पुग्नुपर्ने भएको भन्दै प्रदेश सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै भाषण बिट मारेका थिए। देउवा हिँडेपछि अरू नेताले आफ्नो धारणा जारी राखेका थिए ।

 
 
  
 

You may also like