शेखरको चिन्ता : देश अराजकतातिर गइरहेको छ, मंसिर ७ पछि के हुन्छ थाहा छैन

by समतल अनलाइन

मोरङ । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अराजकतातिर गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मोरङको विराटनगरमा एक किताब विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले मंसिर ७ गतेपछि के होला भन्ने चिन्ता सबैमा छाएको उनले बताए ।

‘देश अहिले अराजकतातिर गइरहेको छ । सबैको मनमा होला ७ गतेदेखि के हुन्छ भन्ने,’ कोइरालाले भने, ‘गणतन्त्र यसैका लागि ल्याएको हो त हामीले ?’ मंसिर ७ गतेको विषयमा देशभर चर्चा रहेको समेत उनले बताएका छन् । राजनीतिक नेतृत्व विभिन्न विषयमा चुकेका कारण जनता निरास भएकाले यसबारे सरकार अहिले नै सचेत बन्नुपर्ने कोइरालाले सुझाव दिए ।

‘भ्रष्टाचारको कुरा छ, दण्डहीनताको कुरा छ, जवाफदेहिताको कुरा छ, कतै न कतै हामी चुकेका छौँ । यही कारणले जनता निरास छन्,’ कोइरालाले भने । मंसिर ७ गते दुर्गा प्रसाई र नेकपा एमालेको युवा संघले एकै दिन एकै स्थानमा एक अर्काविरुद्ध कार्यक्रम गर्ने तयारी गरेका छन् । सरकारले यस विषयलाई लिएर सुरक्षा तयारी समेत गरिरहेको छ ।

 
 
  
 

You may also like