टाइगर-३ छोडेर दिमाग खराबलाई दर्शकको साथ !

by समतल अनलाइन

काठमाडौँ । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ले सलमान खानको टाइगर- ३ लाई नेपाली बक्सअफिसमा चुनौती दिएको छ ।बक्सअफिसमा खराब शुरुवात गरेको दिमाग खराबलाई सलमानको टाइगर- ३ रिलिज भएपछि झन् दयनीय अवस्थामा पुगेको थियो । दर्शक नपाएपछि मल्टीप्लेक्सहरुमा शो खोसिएको थियो । शो खोसिएपछि दिमाग खराब निर्माण पक्षले फिल्मलाई हलबाट उतार्ने सम्मको चेतावनी नै दिएका थिए । तर फिल्मले तिहारपछि एका एक दर्शकको साथ पाएपछि अहिले टाइगर- ३ को भन्दा दिमाग खराबमा दर्शकको चाप बढेको छ र केहि मल्टीप्लेक्सहरुमा फिल्मको शो समेत बढेको छ ।

फिल्मको व्यापार शनिबार देखि आक्रामक भएको अधिकांश मल्टीप्लेक्सको टिकट बुकिंगबाट देख्न सकिन्छ । टाइगर- ३ ले अपेक्षाभन्दा कमजोर रिभ्यू पाएपछि दर्शक दिमाग खराबमा फर्किएको फिल्म विश्लेषकहरुले टिप्पणी गरेका छन् ।
शनिबार दर्शकले देखाएको दिमाग खराबप्रतिको आकर्षणलाई निरन्तरता पाएमा फिल्मले राम्रो कमाइ गर्ने देखिएको छ

दिमाग खराब निर्माण पक्षले बराबर शो नपाएको र शेयर बराबर हुनुपर्ने माग मंगलबारसम्म समाधान गर्ने सहमति यसअघि नै भएको छ । निर्देशक बस्नेतले यस बारेमा भनेका छन्- ‘फिल्म हलबाट नेपाल चलचित्र संघसंग आज भएको सकारात्मक छलफलमा मंगलबार सबैकुराको समाधान गरि अघी बड्ने सहमति गरेका छौं । मंगलबारसम्म दिमाग खराब प्रदर्शन हुने र त्यसपछिको प्रदर्शन मंगलबारको निर्णय अनुरुप तय गरिने जानकारी गराउदछौं । सबैकुरा सकारात्मक हुने आशा सहित सबै सहयोगी मन र दर्शकहरुलाई धन्यवाद भन्न चाहन्छु ।’

राजनीतिक पृष्ठभूमिकामा निर्माण भएको फिल्ममा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया आदिको अभिनय रहेको छ ।

 
 
  
 

You may also like