सुर्ति तथा मदिराजन्य पदार्थको खरिद बिक्रीमा रोक लगाउनेबारे अन्तरकृया

by समतल अनलाइन

कञ्चन। रुपन्देहीको कञ्चनमा बालबालिका तथा किशोर किशोरीहरुको शसक्तीकरणका लागि संवाद कार्यक्रम संचालन गर्दै आएको साथी सञ्जाल तथा बिभिन्न ग्रेजुएट र बाल बगैचाको माध्यमबाट बालबालिका तथा किशोर किशोरीहरुको हक अधिकार र सशक्तीकरणका समुदाय सचेतना, संवाद तथा अन्तरकृया कार्यक्रम संचालन गर्दै आइरहेको छ।

सुनगाभा सामुदायिक बिकास केन्द्र र स्ट्रोम फाउण्डेशनको सहयोग तथा स्थानीय सरकारी गैरसरकारी संघ संस्थाहरुको सहकार्यमा सडक नाटक, र्याली, छलफल र अन्तरकृया कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बिभिन्न साथी सञ्जालहरु मध्ये रुद्रपुर साथी सन्जाल,रुपन्देहीले सोमबार बालबालिका तथा किशोरकिशोरीहरुलाई सुर्ती तथा मदिराजन्य पदार्थको खरिद विक्रिमा रोक लगाउनको लागि सरोकारवाला संस्था बिच तथ्यमा आधारित अन्तर्किया तथा समीक्षा कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा कञ्चन गाउपालिका वडा नं. ३ का वडा अध्यक्ष तथा प्रमुख अतिथि टिकाराम सापकोटाले अभिभावकले बालबालिकाको पुर्ण जिम्मेवारी लिई निगरानी गर्नु पर्नेमा जोड दिनु भयो। ।वडा अध्यक्ष सापकोटाले आफ्नो छोराछोरीले के कस्तो क्रियाकलाप गरेको छ ध्यान दिनु पर्ने बताउदै वडा नं. ३ मा ३७ जना किशोर शिोरीहरु दुर्व्यसनीमा फसेको र उनिहरुको नयाँ जिवनका लागि बिभिन्न प्रहरी प्रसाशान मार्फत सुधार केन्द्रहरुमा पठाइएको बताउनु भयो।
विशिष्ट अतिथी तथा वडा नं. ५ का अध्यक्ष कुल प्रसाद पौडेलले दुर्व्यसनि को न्यूनीकरणको लागि समुदायमा रहेका अभिभावक तथा किशोरकिशोरीहरु केन्द्रित सचेतनामुलक बिभिन्न कार्यक्रम सहित किशोरी किशोरीहरुको भावना अनुसारको परामर्श कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिनु भयो। साथी सञ्जालले गर्ने हरेक कार्यक्रमहरुलाई वडा कार्यालयले आवस्य साथ, सहयोग र सल्लाह दिने वडा अध्यक्ष पौडेलले प्रतिवद्धता जनाउनु भयो।

ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक सुर्य बहादुर साहीले २०७६ को ऐन अन्तर्गत पालिका स्थानीय सरकारबाट कार्यन्व्यन गर्ने र अनुगमन गर्नु पर्नेमा जोड दिनु भएको थियो । किशोर किशोरीहरुको भविष्यलाई सुनिश्चित गर्न अभिभावक, त्यो समाज र संगतको पनि महत्वपुर्ण भुमिका रहने भएकोले सरोकारवालहरुले आ आफ्नो दायित्व र जिममेवारीलाई पुर्ण रुपमा पालना गर्न सकियो भने दुर्ब्यसनीमा कमी आउन सक्ने प्रहरी निरीक्षक शाहीले जोड दिनु भयो।

सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन ४ रुपन्देहीका अध्यक्ष अमृता थापा मगरले बालबालिका तथा किशोरी किशोरीहरुलाई सुर्ति तथा मदिराजन्य पदार्थको खरिद बिक्रीमा रोक लगाउने सरकारको नीति भएपनि नियामक निकायबाट प्रभावकारी अनुगमन र नियमन नहुँदा अभिभावक र जिम्मेवार ब्यक्तिहरुबाटै खुलेआम सुर्ति तथा मदिराजन्य पदार्थ किन बेच गर्न लगाइरहेको बताउनु भयो। संघ र प्रदेशस्तरबाट नियमन र अनुगमन हुन नसकेको अवस्थामा स्थानीय तहले कडाईका साथ अनुगमनलाई प्रभावकारी बनाउनु पर्नेमा अध्यक्ष थापा मगरले जोड दिदै सामुदाय र विद्यालयमा सुचना प्रवाह गर्ने अत्यन्त जरुरी रहेको बताउनु भयो।

यसैगरी ज्ञानज्योती आधारभुत बिद्यालयका प्रधानाध्यापक रेनुका थापाले बालबालिका र किशोरकिशोरीहरु प्राय बिद्यालय तहमा हुने र उनिहरुलाई बिद्यालय शिक्षा मार्फत लागुऔषधको दुर्ब्यसनीबाट हुुने शारिरीक, मानसिक, आर्थिक रुपमा हुने नोक्सानीबारे प्रभावकारी रुपमा शिक्षण र अभिभावकहरुको नियमित निगरानी अति आवस्यक हुने उल्लेख गर्नु भयो।

कार्यक्रममा संकल्प समूहका योगेस ठकुरीले १८ बर्ष भन्दा माथिका युवाहरुलाइ जनचेतना मुलक कार्यक्रममा सहभागी गराउने र साथ साथै स्थानीय सरकारले पनि युवाहरुलाइ खेलकुद र सामाजिक कृयाकलापहरुमा संलग्न गराउन सके दुर्ब्यसनीबाट सुरक्षित राख्न सकिने बताउनु भयो।

रुद्रपुर साथी सञ्जालका उपाध्यक्ष लक्ष्मी श्रेष्ठको अध्यक्षता, सञ्जालका सचिव लक्षमण सुनारको संचालन र नेहा थारुको स्वागतमा सम्पन्न कार्यक्रममा चापा जप्ती टोल बिकास संस्थाका अध्यक्ष नरसिह कुवँर, कञ्चन साथी सञ्जालका समिक्षा राना, सुस्मिता नेपाली, भैसाही माध्यमिक बिद्यालयका शिक्षक रुपा थापा लगायतले समेत अन्तरकृया कार्यक्रममा सहभागीता जनाउनु भएको थियो।

सुनगाभा सामुदायिक बिकास केन्द्रको सहयोग तथा कञ्चन गाउपालिका वडा नं. ३,४ र ५ को सहआयोजनामा सम्पन्न कार्यक्रम सुनगाभा सामुदायिक बिकास केन्द, कञ्चन ४ रुपन्देहीको सभाहल भएको थियो।

 
 
  
 

You may also like