भूकम्पमा ज्यान गुमाउनेको संख्या १५७ पुग्यो, १९७ जना घाइते

by समतल अनलाइन

काठमाडौं। भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । यस्तै भूकम्पबाट दुवै जिल्लामा गरी १ सय ९७ जना घाइते भएका छन।

सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा १ सय ५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ।

यसैगरी भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन–तीन तथा रोल्पामा एक जना घाइते भएका छन। घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज, काठमाडौं तथा अन्य ठाउँमा ल्याईएको छ।

पश्चिम रुकुमका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्थका अनुसार घाईतेहरुलाई उद्धार गरी अवस्था अनुुसार अस्पतालमा पुर्‍याई सकिएको छ। अव भुकम्पका कारण घाईतेहरुको मृत्युहुने संख्या बढने सम्भावना कम रहेको पन्थले बताए।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ। प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो। भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ। भूकम्प प्रभावित स्थानमा राजनीतिक दल र नागरिक समाजका अगुवाहरुले पनि उद्धार तथा राहात कार्य अघि बढाएका छन।

 
 
  
 

You may also like