प्रधानमन्त्री आफै भूकम्प प्रभावित क्षेत्रमा जाँदै

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफै भूकम्प प्रभावित क्षेत्रमा जाने भएका छन् । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति पौने १२ बजे ६. ४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।

खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड आफैं प्रभावित क्षेत्रमा जान लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित क्षेत्रमा जान लागेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि खटिन सबैलाई अपिल समेत गरेका छन् । भूकम्पबाट जाजरको र रुकुम पश्चिममा क्षति भएको छ । जाजरकोटको नलगाड र रुकुमको आठविसकोट नगरपालिका र सानीभेरी नगरपालिकामा ठूलो क्षति भएको छ । उद्धारका लागि सुर्खेतबाट तीन वटा हेलिकोप्टर परिचालन गर्ने तयारी गरिएको छ ।

भूकम्पबाट ठूलो मानवीय र भौतिक क्षति भएपछि प्रधानमन्त्री प्रचण्डले तीन वटै सुरक्षा निकायलाई उद्धार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिएका छन् । उनले घाइतेहरुको तत्काल उद्धार र राहतका लागि सबै संयन्त्रहरुलाई सक्रिय रुपमा काम गर्न भनेका छन् । घाइतेहरूको उद्धारका लागि स्वास्थ्यकर्मी, हेलिकप्टर र औषधि पठाउने तयारी भइरहेको हेलो सरकारले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्डले घटनाप्रति दुःख व्यक्त गरका छन् ।

 
 
  
 

You may also like