बारामा शिक्षक हत्यामा संलग्नको आशंकामा एक पक्राउ, जोडियो ६० किलो सुन तस्करी काण्ड

by समतल अनलाइन

बारा । बाराको कलैया उपमहानगरपालिका–६ मा सोमबार भएको प्रधानाध्यापक रुपेश स्वर्णकार ‘गुड्डु’ को गोली हानी हत्यामा संलग्न भएको आशंकामा एक जना पक्राउ परेका छन् ।

बारा जिल्लास्थित बाल एकता इङलिस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक रूपेश सर्राफ ‘गुड्डु’ को हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको भए पनि सार्वजनिक भने गरेको छैन । जिल्ला प्रहरी कार्यालय बाराले कलैयाबाट एक जनालाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । ‘अहिले बताउन सक्ने विषय भनेको शंकास्पद एक जना नियन्त्रणमा छन्, अरु विषयमा अनुसन्धान भइरहेको छ’, सापकोटाले भने, ‘थप खुलेपछि प्रहरीले यस विषयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछ ।’

बारा कलैया उपमहानगरपालिका–६ का रूपेशमाथि आज दिउँसो १ बजे २ वटा मोटरसाईकलमा आएका चार जनाको समूहले कलैया बजारमा दिउँसै गोली प्रहार गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका उनलाई अस्पताल पु¥याए लगत्तै डाक्टरले मृत घोषणा गरेको मधेस प्रहरी प्रमुख डीआईजी जनक भट्टराईले जानकारी दिए । प्रहरीका अनुसार उनीमाथि पाँचवटा गोली प्रहार भएको थियो । उनीमाथि दुईवटा मोटरसाइकलमा आएको समूहले गोली प्रहार गरेको प्रहरी बताउँछ ।

हत्यामा सुन प्रकरणको आशंका
रूपेशको हत्या लगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि घटनाबारे चासो राखेको छ । हत्या गरिएका रूपेश ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका बाराकै सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिवकुमार सर्राफका आफन्त हुन् । बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान थालिएको जानकारी दिएका छन् ।

 
 
  
 

You may also like