भैरहवामा हुने छैठौं लुम्बिनी प्रादेशिक महोत्सव सफल पार्न सहयोग गर्ने प्रतिवद्धता

by समतल अनलाइन

भैरहवा। चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा आगामी मंसिर ६ गतेदेखि भैरहवामा हुने छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) सफल पार्न सहयोग गर्ने सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले महोत्सव भैरहवाको पहिचान भएकाले यसलाई सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उद्योग व्यापार संगठन, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको विजया दशमी, दीपावली, नेपाल सम्वत् तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा छैठौं लुम्बिनी प्रादेशिक महोत्सवको सल्लाह–सुझाव कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सि.के.)ले महोत्सवबारे आफूले मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसँग कुरा गरिसकेको बताए । हाल पर्यटन मन्त्रालय मुख्यमन्त्रीको मातहत रहेको पर्यटन र कृषि मन्त्रालयबाट सहयोग गर्ने र महोत्सवमा प्रदेश सरकारको सहभागीता रहने मुख्यमन्त्रीले प्रतिवद्धता जनाउनुभएको मन्त्री गुप्ताले बताए । उनले भने, ‘दशैंपछि महोत्सवबारे सल्लाह गर्छौं र सहयोग गछौंं । ’ मन्त्री गुप्ताले कुनै एउटा जिल्ला र प्रदेशलाई मात्र राम्रो बनाएर नहुने भएकाले ७७ वटै जिल्लाको विकास गरे मात्र सिंगो मुलुकको विकास हुन सक्ने बताए ।

उनले सामाजिक मन्त्रालयमा कुनै नेताको बजेट नभइ जनताको पैसा भएकोले जनताको विकासका लागि उपयोग गरिने बताए । मन्त्री गुप्ताले उद्योगी–व्यवसायीलाई सम्मान गर्नुपर्ने र सम्मानले उहाँहरुको मनोबल बढ्ने बताए ।

त्यस्तै उद्योग व्यापार संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष तथा सिद्धार्थ सञ्जाल, रुपन्देहीका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले सिंगो प्रदेशलाई समेट्ने महोत्सव सफल पार्न सबैको साथ र सहयोग अवश्य हुने विश्वास व्यक्त गरे । उनले विगतका वर्षहरुको महोत्सव भन्दा यस वर्षको महोत्सव अलि फरक रहेको बताए । उनले निजी क्षेत्रको अवस्था दर्दनाक रहेकोले मन फुकाएर सहयोग गर्न संघ–संस्था तथा सरकारलाई आग्रह गरे । उनले भने, ‘प्रदेश र स्थानीय सरकारबाट सहयोग हुने अपेक्षा गरेका छौं । अहिलेको परिस्थितिमा निजी क्षेत्रबाट कम आशा गर्नुपर्ने अवस्था छ ।’

संगठनका पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारीले छैठौं लुम्बिनी प्रादेशिक महोत्सव यस क्षेत्रकै पहिचान भएको बताए । उनले भैरहवामा आयोजना गरिने महोत्सवलाई सफल पार्न स्थानीय सरकार र प्रदेश सरकारलगायत सबैलाई आग्रह गरे । उनले भने, ‘लुम्बिनी प्रदेशमा यो महोत्सव आयोजना गरिएकोले प्रदेश सरकारले स्वामीत्व लिनुपर्छ । सबैले सहयोग गरेर महोत्सव सफल पार्नुपर्छ । ’ भण्डारीले चाडपर्वको बेला समेत रमाइलो वातावरण हुन नसकेको गुनासो गरे ।

संगठनका अध्यक्ष दर्पण श्रेष्ठले यस्तो विषम परिस्थितिमा जोखिम मोलेर महोत्सव आयोजना गरिएकाले सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले सामाजिक उत्तरदायित्व बहन गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सवको आयोजना गरिएको बताए ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका महासचिव जे.पी. कंडेलले महोत्सव सफल पार्न अहोरात्र खट्नुपर्नेमा जोड दिए । उनले महोत्सव सफल पार्ने दायित्व लुम्बिनी प्रदेश सरकारको पनि भएको बताए । उनले भने, ‘अफ्ठयारो परिस्थितिमा सहयोगको आग्रह गरेका छौं ।’

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले महोत्सव सफल पार्न सहयोग गर्ने बताए । उनले भैरहवामा आयोजना गरिएको महोत्सव भएकाले महोत्सव सफल भइ भैरहवा सफल हुने बताए । उनले महोत्सव सफल पार्न प्रदेश र स्थानीय सरकारको अत्यन्तै महत्वपूर्ण भूमिका रहेकोमा जोड दिए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्यायले उद्योगी–व्यवसायी र सिद्धार्थनगर नगरपालिकाबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको बताए । उनले महोत्सव सफल पार्न सिद्धार्थनगर नगरपालिका र वडा कार्यालयबाट सक्दो सहयोग गर्ने बताए ।

सिद्धार्थनगर नगरपालिका–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले महोत्सव सफल पार्न सहयोग गर्ने बताए ।

कार्यक्रममा नेपाल नेत्र ज्योति संघ, रुपन्देहीका कार्यवाहक अध्यक्ष नारायण प्रसाद अग्रवाल, ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय भैरहवाकी ब्रह्माकुमारी सुमित्रा, आस्था महिला उद्यमी संघ भैरहवाकी अध्यक्ष विन्दु न्यौपाने, जेसीआई सिद्धार्थ लेडी, नेपालकी अध्यक्ष गीता गैरे बन्जाडेलगायतले आ–आफ्ना भनाइ राखेका थिए ।

उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठको अध्यक्षता, लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सी.के.)को प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक एवं संगठनकी कार्यसमिति सदस्य माया खनालको स्वागत, संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काको धन्यवाद ज्ञापन तथा महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

आगामी मंसिर ६ देखि १८ गतेसम्म सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० हुने उद्योग व्यापार संगठन, रुपन्देहीका सचिव तथा प्रवक्ता कृष्ण प्रसाद पाण्डेले बताए ।

 
 
  
 

You may also like