नेपाल अपराजित रहदै एसीसी यू- १९ प्रिमियर कपको सेमिफाइनलमा

by समतल अनलाइन

काठमाडौँ । नेपाल एसीसी यू- १९ प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । विहिबार बिहान सम्पन्न समुह ए को अन्तिम खेलमा साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

नेपालले दिएको ३४८ रनको लक्ष्य पछाएको साउदी १९.१ ओभरमा ४६ रनमा अल आउट भएको थियो । साउदीलाई अलआउट गर्नेक्रममा नेपाली बलर दिपेश कँडेलले ६विकेट लिए भने आकास चन्दले २ र सुबास भण्डारीले एक विकेट लिएका थिए ।

यसअघि मलेसियाको वाइकेएम क्रिकेट ओभलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउदै ३४७ रन बनाएको थियो । नेपालका लागि अर्जुन कुमालले शानदार ब्याटिंग गर्दै १४२ रनको इनिंग खेलेका थिए । कुमालले १११ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै १४२ रन बनाएर आउट भएका थिए ।

त्यसैगरी आकास त्रिपाठीले ८९ रनको उत्कृष्ट इनिंग खेलेका थिए । त्यस्तै दीपक बोहोराले २९, बिशाल बिक्रम केसीले २४, दिपक प्रसाद डुम्रेले १४, मिलन बोहोराले ९ दिपेश कँडेलले १४ तथा कप्तान देव खनाल शुन्यमा आउट भएका थिए ।

नेपालले यसअघि पहिलो खेलमा इरानमाथि शानदार २७४ रनको जित हासिल गरेको थियो भने दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो । त्यसैगरी साउदी अरेबियाले आफ्नो पहिलो खेलमा इरानलाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा बहराइनलाई ६७ रनले हराएको थियो ।

नेपाल समुह ए बाट सबै तीन खेल जितेर शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ । त्यसैगरि समुह बी बाट युएई र समुह सी बाट सिंगापुर सेमिफाइनलमा पुगिसकेका छन् ।

अब सेमिफाइनलमा युएई र सिंगापुर खेल्ने निश्चित भएको छ भने नेपालको सामना समुह का जापान, हङकङ र मलेसिया मध्ये एकसँग हुने छ ।

प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसलाई चार समूहमा विभाजन गरिएको छ । शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू- १९ एसिया कपमा छनौट हुने छन् ।

एशिया कपमा भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका सोझै छनोट भएका छन् भने अन्य तीन देश यस प्रिमियर कपबाट छनौट हुने छन् । यू- १९ प्रिमियर कपको समूह ए मा नेपालसहित बहराइन, साउदी अरेविया र इरान रहेका छन् भने समूह बी मा युएई, ओमान, कतार र चीन रहेका छन् ।

त्यस्तै समूह सीमा सिंगापुर, कुवेत, थाईल्यान्ड र माल्दिभ्स रहेका छन् भने समूह डी मा हङकङ, मलेसिया जापान र इन्डोनेसिया रहेका छन् । हरेक समूहका शीर्ष टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोली र तेस्रो स्थानमा रहने गरि तीन टोली एसिया कप खेल्नेछन् । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित हुने टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै सेमिफाइनलका खेल कार्तिक ५ गते हुने छ भने फाइनल र तेस्रो स्थानको खेल कार्तिक ७ गते हुनेछ ।

 
 
  
 

You may also like