बुटवल निराशालाई आशामा बदलौं : अध्यक्ष ढकाल

by समतल अनलाइन

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निराशालाई आशामा बदल्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ । उहाँले मुलुकको खस्किदो अर्थतन्त्रका कारण पछिल्लो समय उद्योगी व्यवसायीमा निराशा उत्पन्न भएको बताउँदै नेपालमा देश भित्रै देखिएका सम्भावनालाई अवसरमा बलल्न पनि आग्रह गर्नुभयो ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशनको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालमा प्रसस्त सम्भावना रहेको र ती सम्भावनालाई अवसरमा बदल्न आग्रह गर्नुभएको हो । ‘मैले त जताततै सम्भावना मात्रै देखेको छु, हरेक पहाडका डाँडामा सम्भावना देखेको छु, कुना कन्दरामा सम्भावना देखेको छु ।’ उहाँले भन्नुभयो–‘यी सम्भावनाहरुलाई अवसरमा बदलौं, विदेश जाने प्रबृत्ति बढेको छ, त्यसलाई निरुत्साहित गरौं ।’

उहाँले आफूले शुन्यबाट सुरु गरेर व्यवसायिक घरानाको नतृत्व गरेको बताउँदै सम्भावनाको पहिचान गर्न नसक्दा नयाँ नयाँ अवसरको सिर्जना गर्न नसकिएको भनाई राख्नुभयो । उहाँले अहिले केही असजिलो भएको भन्दै कालीगण्डकी कोरिडोरले कोरोला नाका पुगेमा यस क्षेत्रको मात्र नभई समग्र देशको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आफ्नै नेतृत्वमा ट्रंक लाईन समस्या समाधानको पहल भईरहेको जानकारी गराउँदै अहिले बजारमा भईरहेको मन्दि नेपालमा मात्रै नभएर विश्वकै समस्या भएकाले विस्तारै लयमा फर्किनेमा विश्वास व्यक्त गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको विकासको लागि बुटवल उपमहानगरपालिका बुटवल उद्योग वाणिज्य संघ सहित निजी क्षेत्रसंग सहकार्य गर्न चाहेको बताउनु भयो । उहाँले यस क्षेत्रलाई पर्यटनको गन्तव्य बनाउनको लागि ऐतिहासिक बटौली बजारलाई चलायमान बनाउन उहाँले निजी क्षेत्रको साथ खोज्नु भएको हो ।

त्यस्तै उहाँले मोतिपुर औद्योगिक क्षेत्र निर्माणको कामलाई अगाडि बढाउनको लागि सबै मिलेर काम गर्नुपर्ने भन्दै मोतिपुर औद्योगिक क्षेत्रको निर्माण हुन सकेमा कम्तिमा पनि २ सय उद्योग स्थापना गर्न सकिने र जतिसक्यो चाँडो यो काम गर्न सकियो भने बुटवलबाट औद्योगिक विकासको राम्रो सन्देश प्रवाह गर्न सकिने भनाई राख्नुभयो । उहाँले अरु सबै काम छोडेर औद्योगिक क्षेत्र निर्माणको काममा लाग्न पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले व्यवसायिक वातावरण विग्रिदै गएको औंल्याउदै व्यवसायिक वातावरण बनाईदिन तीनै तहका सरकारसंग आग्रह गर्नुभयो । उहाँले मुलुकको खस्किदो अर्थतन्त्र र विग्रिदै गएको व्यवसायिक वातावरण सुधार गर्न सकिएन भने मुलुकै अर्थतन्त्र थप जोखिममा पर्ने बताउनु भयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल, नेपाल उद्योग महासंघ एशोसियट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल उद्योग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णकुमार शर्मा, नेपाल उद्योग महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान, नेपाल उद्योग महासंघका कार्यकारिणी सदस्य राजेश अग्रवाल, नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल, संघका सल्लाहकार तथा पूर्वअध्यक्षहरु निर्मलप्रसाद लाकौल, सुरेन्द्रप्रसाद श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद तथा महासचिव विमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।

 

पत्रकार पौडल पुरस्कृत ः पुराना व्यवसायी गौचन सहित उत्कृष्ट उद्योगी व्यवसायीलाई सम्मान

बुटवल उद्योग वाणिज्य संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कार पत्रकार सञ्जु पौडेललाई प्रदान गरिएको छ । संघले प्रत्येक अधिवेशन सहितको साधारण सभामा यो पुरस्कार प्रदान गर्दै आएको छ । कान्तिपुरकर्मी पौडेललाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त पुरस्कार प्रदान गर्नुभएको हो । यो पुरस्कारको राशी २५ हजार रुपैंया रहेको छ । त्यस्तै सञ्चार माध्यम तर्फ दैनिक लुम्बिनीलाई सम्मान गरिएको छ ।

त्यस्तै बुटवलका पुराना व्यवसायी चित्रमान गौचन सहित उत्कृष्ट उद्योगी यज्ञश्वर थैव, केशव ढकाल र महिला उद्यमी सुनिता अर्याललाई सम्मान गरिएको हो । उहाँहरुलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । त्यसै अवसरमा संघका पूर्वअध्यक्ष, सल्लाहका तथा कार्यसमिति पदाधिकारी सदस्यहरुलाई सम्मान गरिएको छ । त्यसै अवसरमा संघले प्रकाशन गरेको ‘हाम्रो बुटवल’ स्मारिका विमोचन गरिएको छ ।

 
 
  
 

You may also like