बुटवल उद्योग वाणिज्य संघमा दिनेश प्रसाद श्रेष्ठको प्यानलद्वारा उम्मेदवारी घोषणा

by समतल अनलाइन

बुटवल । बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । बिहिबार बुटवलमा उम्मेदवारी घोषणा सभाको आयोजना गरी अध्यक्षमा श्रेष्ठ सहित उहाँको प्यानलको उम्मेदवारी घोषणा गरिएको हो ।

उहाँले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्दै आफ्नो उम्मेद्वारी प्राकृतिक न्यायको सिद्धान्तमा आधारित रहेको बताउनु भयो । यस क्षेत्रको व्यवसायिक तथा उद्यमशिलता विकास, गिर्दो आथिर्क अवस्थाको सुधार र व्यवसायीमैत्री नीति निर्माणमा योगदान गर्नको लागि अध्यक्षमा उम्मेद्वारी घोषणा गरेको बताउनु भयो ।

उहाँको प्यानलबाट वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष पदमा नविनप्रसाद श्रेष्ठ, वाणिज्य उपाध्यक्ष पदमा विमलराज भट्टराई, महासचिव पदमा बाबुराम विक, कोषाध्यक्ष पदमा प्रकाशकुमार श्रेष्ठ, सचिव पदमा प्रतिक पोखरेल र सहकोषाध्यक्ष पदमा जाकिर हुसेनले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नुभएका गैरे मौजुदा समितिका उद्योग उपाध्यक्ष हुनुहुन्छ भने उद्योग उपाध्यक्षका उम्मेवार श्रेष्ठ कोषाध्यक्ष, वाणिज्य उपाध्यक्षका उम्मेद्वार भट्टराई महासचिव, महासचिव पदका उम्मेदवार विक पूर्व कार्यसमिति सदस्य तथा कोषाध्यक्षका उम्मेदवार श्रेष्ठ र सचिव पदका उम्मेद्वार पोखरेल कार्यसमिति सदस्य हुनुहन्छ । त्यस्तै सहकोषाध्यक्ष पदका उम्मेदवार हुसेन पनि पूर्व कार्यसमिति सदस्य हुनुहुन्छ ।

उम्मेदवार घोषणा सभामा निर्वाचन प्रचारप्रसार समितिका सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठले संघका अधिकांश पूर्वअध्यक्षहरुले श्रेष्ठको प्यानललाई साथ दिएको बताउनु भयो । उम्मेदवारी घोषणा सभामा पनि अधिकांश पूर्व अध्यक्षहरुको सहभागिता रहेको थियो । संघको यहि असोज १९ देखि २२ गतेसम्म ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशन हुँदैछ ।

 
 
  
 

You may also like