चीन भ्रमण : प्रधानमन्त्री प्रचण्ड आज हाङजाओबाट राजधानी बेइजिङ जाँदै

by समतल अनलाइन

काठमाडौं । एक साता लामो चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज राजधानी बेइजिङ पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसीपिआइटीले सो सम्मेलन आयोजना गरेका छन् । नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी रहने सम्मेलनमा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा छलफल हुनेछ । प्रधानमन्त्री प्रचण्ड आजै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भोलि भने प्रधानमन्त्री प्रचण्डले चीनको नेशनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजी र चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । भोलि नेपाल–चीनका विविध सहयोग सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

त्यसपछि चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्ने कार्यक्रम छ भने चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन् । हिजो प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसंग हाङचाओमा भटवार्ता गरे । प्रधानमन्त्री दाहालसहितको प्रतिनिधिमण्डल यही असोज १३ गते नेपाल फर्कने कार्यक्रम छ ।

 
 
  
 

You may also like