रुपन्देहीका महिला उद्यमीसंग सहकार्य गर्न वीन सहकारीको प्रस्ताव

by समतल अनलाइन

महिला उद्यमीहरुले ललितपुरमा सञ्चालन गरेको वीन बहुउद्देश्यीय सहकारी संस्थाले रुपन्देहीमा महिला उद्यमीसंग सहकार्यको लागि प्रस्ताव गरेको छ । बुधबार बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा भेटघाट गरी यस क्षेत्रका घरेलु तथा साना महिला उद्यमीसंग सहकार्यको लागि प्रस्ताव गरेको हो ।

भेटघाटमा वीन बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष मालिका श्रेष्ठले ३५ जना महिला उद्यमी मिलेर सुरु गरिएको यो सहकारीमा शेयर सदस्य हुनको लागि उद्यम गरेको महिला हुनुपर्ने बताउनु भयो । उहाँका अनुसार अहिले यो सहकारी संस्थामा ३३४ जना शेयर सदस्य छन् । जो सबै उद्यमी हुन् ।

उनीहरुले गरेको उत्पादन सहकारी मार्फत बजारको प्रवन्ध मिलाईन्छ । ‘कोरोना महामारी भन्दा अगाडि धेरै देशहरुमा निर्यात गरिन्थ्यो ।’ उहाँले भन्नुभयो–‘तर अहिले जापान, जर्मनी लगायतका देशहरुमा थोरै थोरै मात्रै निर्यात भईरहेको छ ।’ जापानमा मसला, मह लगायतका खाद्य सामाग्रि निर्यात हुन्छ भने जर्मनीमा हस्तकलाका सामाग्रिहरु निर्यात भईरहेको छ ।

अध्यक्ष श्रेष्ठले रुपन्देहीमा पनि महिला उद्यमशिलता विकासको राम्रो सम्भावना देखिएकाले आफूहरुले सहकार्य गर्न चाहेको बताउनु भयो ।

त्यस अवसरमा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले रुपन्देहीमा हस्तकला तथा जडिबुटी प्रशोधनका साना तथा मझौला उद्योगमा राम्रो सम्भावना भएपनि महिलाहरु त्यसतर्फ आकर्षित हुन नसकेको बताउँदै सहकारीसंग सहकार्य हुन सक्यो भने त्यसका माध्यमबाट राम्रो अवसरको सिर्जना हुन सक्ने भनाई राख्नुभयो ।

त्यसै अवसरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि.ले उद्योगी व्यवासायी एम.एस.एम.ई योजनाको बारेमा जानकारी गराएको छ । कार्यक्रममा बैंकका बुटवल शाखा प्रवन्धक अमृत थापाले साना, मझौला तथा घरेलु उद्योगमा १० प्रतिशत कर्जा प्रवाह अनिवार्य रहेको बताउँदै त्यसबाट साना मझौला तथा घरेलु उद्योगहरुले लाभ लिन सक्ने बताउनु भयो ।

पुँजीको आधारमा नेपालमा सबैभन्दा ठूलो यो बैंकको लुम्बिनी पदेशका ११ जिल्लामा २९ वटा शाखा, ३१ वटा एटिएम, साढे ४ लाख सेवाग्राही रहेको पनि उहाँले जानकारी गराउनु भयो । लुम्बिनी प्रदेशमा शाखा खोल्न बाँकी रहेको रुकुम पूर्वमा पनि अब छिटै बैंकले शाखा विस्तारको तयारी गरेको पनि जानकारी गराउनु भयो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभाकी पूर्व सदस्य रमा अर्यालले बैंकले सेवाग्राहीलाई समस्या आउन नदिनेगरी र झण्झटहरु हुन नदिनेगरी काम गर्नुपर्ने सुझाव दिनुभयो । त्यस अवसरमा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव विमलराज भट्टराई लगायतले भनाई राख्नुभएको थियो ।

 
 
  
 

You may also like