सरकार टिकाउने चिन्ता छैन, भ्रष्टाचारविरोधी अभियान टुङ्गोमा पुर्‍याउने प्रतिज्ञा लिएको छु: प्रचण्ड

by समतल अनलाइन

मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इँटको जवाफ पत्थरले दिन समाजवादी मोर्चाका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मोर्चाले आज (सोमबार) विराटनगरमा गरेको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्र ल्याउनेहरु रक्षात्मक र गाली गरेको भरमा आएकाहरु पार्टी हुने जस्तो विडम्बना देखिएको बताए । सामाजिक सञ्जाल हेर्न नसक्ने अवस्था आएको भन्दै उनले भने, ‘यस्तो भाषा बोल्ने नेपाली कल्चर हो त भनेको जस्तो लाग्छ ।’

यस्ता प्रचार गर्नेहरु चाहिं राजनीतिज्ञ जस्तो, अनि जिन्दगीभर जेलनेल, भूमिगत, त्याग गरेर देशमा गणतन्त्र ल्याउनेहरु रक्षात्मक, अलिकति डराए जस्तो देखिएको उनले बताए । उनले अघि भने, ‘नाम त के लिनु र मैले । निरंकुशताका दलालहरु‘, जसको चरित्र गुण्डाको भन्दा फरक छैन ।’

उनीहरुमध्येकै एकले नेपाली कांग्रेसको सहमहामन्त्रीमाथि खुकुरी प्रहार गरेको प्रधानमन्त्रीले बताए । ‘भनेपछि उनीहरुको मनोबल कस्तो रहेछ, तपाईं हामी चाहिं बडो रक्षात्मक’ उनले थपे, ‘त्यस्तो होइन अब । अब यो समाजवादी मोर्चाले जहाँ बदमासी हुन्छ, गालीगलौज हुन्छ, इँटको जवाफ पत्थरले दिने हो । दिनैपर्‍यो ।’

भोलि सुदूरपश्चिममा कार्यक्रम गरेसँगै सन्देश सभा सकिने भन्दै उनले लगत्तै बैठक बसेर सडकमा जाने कार्यक्रम बनाउने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘लाखौं जनतालाई सडकमा ल्याउने हो र यी गुण्डा, प्रतिक्रान्तिकारी, दलालहरुलाई हामी जिउँदैछौं भन्ने देखाउन पर्‍यो । अनि मात्र हाम्रो जित हुन्छ ।’

‘सरकार टिकाउने चिन्ता छैन, भ्रष्टाचारविरोधी अभियान टुङ्गोमा पुर्‍याउने प्रतिज्ञा लिएको छु ’
प्रधानमन्त्री प्रचण्डले सरकारले एकपछि अर्को भ्रष्टाचारविरोधी अभियानको थालनी गरेको भन्दै त्यसविरुद्ध देशभरबाट षड्यन्त्र भइरहेको बताएका छन् । उनले आफ्नो सरकार कति दिन टिक्छ भन्ने चिन्ता नभएको पनि बताएका छन् ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणबाट सुरु भएको यो अभियान ललिता निवास हुँदै सुनको तस्करविरुद्ध लागेको छ। एकपछि अर्को बेथितिविरुद्ध यस्तो कदम लिएपछि देशभर प्रतिक्रियावादीहरु यसको षडयन्त्र गरिरहेका छन् । आफ्नै लडाईंले अघि बढ्न सकिन्छ, त्यतिबेला जनताको साथ चाहिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

भ्रष्टाचारविरुद्धको अभियानलाई अन्तिमसम्म पुर्‍याउने प्रतिज्ञा आफूले लिएको बताए । ‘सरकार कति दिन टिक्छ भन्ने मलाई चिन्ता छैन, भ्रष्टाचारविरुद्धको अभियान अन्तिमसम्म पुर्‍याउने प्रतिज्ञा लिएको छु,’ प्रधानमन्त्रीको भनाइ थियो । उनले लामो समयदेखि रहेको नागरिकतताको समस्या पनि समाधान यो सरकारले गरेको बताए ।

 
 
  
 

You may also like