तिलोत्तमाका किसानलाई गहुँको बिऊमा ४० प्रतिशत अनुदान

by समतल अनलाइन

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा किसानलाई अनुदानमा गहुँको बिऊ वितरण सुरु भएको छ । नगरको वार्षिक स्वीकृत कार्यक्रमअनुसार बिहीबारबाट ४० प्रतिशत अनुदानमा गहुँको बिऊ वितरण सुरु भएको हो ।

नगरपालिकाले गत वर्ष पनि गहुँको बिऊमा ४० प्रतिशत अनुदान दिएको थियो । किसानलाई प्रोत्साहन गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने नीतिअनुसार गहुँको बिऊमा अनुदान दिइएको नगर प्रमुख बासुदेव घिमिरेले बताए । किसानबाट माग परिमाण संकलन गरेर भलबारी दल्का स्थित कृषि सेवा केन्द्रमार्फत् बिऊ वितरण गरिएको हो ।

नगरपालिकाले यसअघि सूचना जारी गरी आफूलाई चाहिने गहुँको बिऊको विवरण वडा कार्यालयमा टिपाउन किसानलाई जानकारी गराएको थियो । नगरपालिकाले भृकुटी, आदित्य, विजय, एनएल, गौतम जातको उन्नत गहुँको बिऊ उपलब्ध गराएको हो ।

बिहीबार भलबारी स्थित कृषि सेवा केन्द्रमा नगर प्रमुख बासुदेव घिमिरेले वडा नं. ११ मृगौलीका किसान विश्राम कुँवर र रामलगन यादवलाई एक÷एक बोरा बिउ उपलब्ध गराएर वितरण कार्य सुरु गरे ।

 
 
  
 

You may also like