पाँच प्रदेशमा भारी वर्षा, मधेस र बागमतीमा ठूलो पानी पर्ने

काठमाडौँ । नेपालमा अहिले मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू–भाग तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसमविदले जनाएका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज (मंगलबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरूको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

देशका विभिन्न भू–भागमा अहिले भारी वर्षा भइरहेको छ । काठमाडौंलगायत देशका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ । गएराति देखि नै भारी वर्षा भइरहेको हो ।

कमला नदी, सिन्धुली रानीबासस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । सिन्धुलीबाट तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा रहनेहरू बिहान अबेरसम्म सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
दाङको लमाही, भालुबाङ, कुसुम र आसपास अति भारी वर्षा भएको छ । उक्त क्षेत्रमा भएको अति भारी वर्षाका कारण पश्चिम राप्ती नदीको बहाव बढ्ने र सतर्कता आसपास पुग्न सक्ने महाशाखाले जनाएको छ ।

यसका सहायक नदीहरूको जलसतह एक्कासी बढी आकस्मिक बहाव हुनसक्ने भएकाले नदी तटीय क्षेत्रमा बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बाकेँको कुसुम वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स–साना खहरे खोलाहरूमा आकस्मिक बाढी आउनसक्ने, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले सतर्कता अपनाउन पनि महाशाखाले जनाएको छ ।

कञ्चनपुर र कैलालीको धेरै स्थानमा भारी वर्षा भएको छ । सो क्षेत्र भई बहने कान्द्रा, दोधा, मोहना, खुटीया, सुहेली, चौधर, रंघुन, पन्टुरालगायत उक्त जिल्लाको साना खरहे खोलाहरूमा एक्कासी बाढी आउनसक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूले सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

 
 
  
 

You may also like