छिचोलियो नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गकाे ‘रेस्क्यु टनेल’

काठमाडौँ । नौबिसे–नागढुङ्गा सुरुङ मार्गको ‘रेस्क्यु टनेल’ (आपतकालीन सुरुङ मार्ग) को ‘ब्रेक थ्रु’ भएको छ । दुई किलोमिटर ५५७ मिटर लामो सुरुङ धादिङ र काठमाडौँ दुवैतर्फबाट छिचोलिएको सडक विभागले जनाएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यु टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिएको हो ।

सडक छिचोल्ने काम पूरा हुने बेलामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाई, सचिव केशवकुमार शर्मासहितको टोलीको उपस्थित थियो । सुरुङको ब्रेक थ्रु भएसँगै भौतिक मन्त्रीदेखि सचिवहरु र निर्माणमा संलग्न अधिकारी र इन्जिनियरहरुले खुशी साटासाट गरेका छन् ।

सुरुङ खन्ने काम सकिए पनि अरू काम बाँकी छ । मुख्य सुरुङ मार्ग अबको चार महिनाभित्र छिचोलिने विभागले जानकारी दिएको छ । दुई किलोमिटर ६८८ मिटर लामो मुख्य सुरुङमार्ग अब ५२५ मिटर खन्न बाँकी छ । नयाँ समस्या नआएमा २०८१ सालको पुसमा सुरुङबाट गाडी चल्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको दाबी छ ।

अहिले काठमाडौँको चन्द्रागिरिमा रहेको टुटीपाखा र धादिङको धुनीबेसी नगरपालिकामा रहेको सिस्नेखोलामा निर्माणको काम भइरहेको छ । यो सुरुङको निर्माण २०७६ कात्तिक ४ गते शिलान्यास भएको थियो । नागढुंगा–नौबिसे सुरुङमार्गको निर्माण ठेक्का २२ अर्ब रुपैयाँमा जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले लिएको छ । आयोजनाले जग्गा अधिग्रहणबापत साढे पाँच अर्ब रूपैयाँ मुआब्जा वितरण गरेको थियो ।

 
 
  
 

You may also like