अक्सफोर्डमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान

झविन्द्र देवकोटा
बुटवल । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि विद्यालयले विज्ञान, ब्यवस्थापन, शिक्षा र मानविकी संकायमा भर्नाभई अध्ययन गर्ने नवआगन्तुक झण्डै नौ सय विद्यार्थीलाई स्वागत गरेको हो ।

नवआगन्तुक विद्यार्थीलाई अध्ययनमा थप प्रोत्साहन मिलोस भनेर ८३५ जना विद्यार्थीलाई स्वागत गरिएको विद्यालयका प्राचार्य दिनेश भुसालले जानकारी दिनुभयो । उहाँले संस्कार सहितको शिक्षालाई प्राथमिकता दिएको विद्यालयले क्वान्टिटी भन्दापनि क्यालिटी एजुकेशनलाई जोड दिएको बताउनुभयो । शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य र समन्वयमा विद्यालय सफल हुन पुगेको भन्दै सबैलाई धन्यवाद दिनुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षता भएको कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल शैक्षिक अब्बल गन्तब्य भएको र यसलाई निजी शैक्षिक संस्थाको भुमिका महत्वपुर्ण भएको बताउनुभयो । उहाँले शैक्षिक विकास र शिक्षामा गुणस्तरका लागि शैक्षिक संस्थाहरुले नाफामुलक भन्दापनि शैक्षिक सुधारका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले सबैसँग सहकार्य गरेर बुटवललाई उत्कृष्ट शैक्षिक हबका रुपमा विकास गर्ने गृहकार्यमा नगरपालिका रहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका शाखा प्रमुख बाबुराम भण्डारी, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, ललित खरेल, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, प्राध्यापक नारायण सापकोटा लगायतले उच्च शिक्षाका लागि अग्रसर विद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना ब्यक्त गर्दै लगन, मेहनत र अनुसाशित हुन सबै विद्यार्थीलाई आग्रह गर्नुभयो । राष्ट्रिय कलाकार प्रमोद खरेल, एलिना चौहानसँगै विद्यार्थीले विभिन्न साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेको कार्यक्रममा मावि तहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र तिनका अभिभावकलाई सम्मान समेत गरिएको प्राध्यापक सुमन भुसालले जानकारी दिनुभयो । उत्कृष्ट अंक ल्याएर सम्मान गरिएका विद्यार्थीहरुलाई नगद १० हजार, तीन हजार, दुई हजार सहित छात्रवृतिको सुविधान समेत दिइएको भुसालले बताउनुभयो ।

विद्यार्थीहरू प्रशान्ना केसी, वसन्त रेग्मी, आस्था रिजाल, प्रितम ज्ञवाली, सरस्वती खनाल र निष्मा पन्थीको संञ्चालनमा भएको कार्यक्रममा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको थियो ।

 
 
  
 

You may also like