बालमैत्री शिक्षण पद्धतीका लागि शिक्षक कर्मचारीलाई प्रशिक्षण

बुटवल । बुटवल–८, सुख्खानगरस्थित एभरेष्ट इ.बो. माध्यमिक विद्यालयमा बालमनोविज्ञान तथा बालमैत्री सिकाईका विषयमा प्रशिक्षण कार्यक्रम भएको छ ।

प्रज्ञा म्यानेजमेन्ट ग्रुप, काठमाडौंका प्रबन्ध निर्देशक तथा वरिष्ठ प्रशिक्षक सहदेव महतले सहजिकरण गर्नु भएको कार्यक्रममा विद्यालयका १५० शिक्षक÷महिला शिक्षक र ३० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । बालमनोविज्ञान, समय व्यवस्थापन, कक्षाकोठा व्यवस्थापन, बालमैत्री शिक्षण पद्वति तथा बालमैत्री व्यवहार लगायतका विविध शीर्षकमा प्रशिक्षक महतले सहजिकरण गर्नु भएको थियो ।

पठनपाठनलाई रोचक र प्रभावकारी बनाउन शिक्षक आफू सक्रिय र अध्ययनशील हुनुपर्ने तथा प्रविधिको उच्चतम उपयोग गरी अध्यापन कार्यलाई प्रभावकारी बनाउनुपर्ने विचार प्रशिक्षक महतले व्यक्त गर्नुभएको थियो । शिक्षक तथा कर्मचारीहरुको व्यक्तित्व विकास एवम् पेशागत दक्षता अभिवृद्वि गर्ने उद्देश्यले आयोजित उक्त प्रशिक्षण कार्यक्रममा समूह कार्य, बौद्विक खेल, परिसंवाद, परियोजना कार्य लगायतका विधिहरुको प्रयोग गरी प्रशिक्षार्थीहरुमा नविन ज्ञानको सञ्चार गरिएको थियो ।

कार्यक्रमको समापनका अवसरमा बोल्दै विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले प्रशिक्षणमा सिकेका सीप र ज्ञानलाई व्यवहारमा उर्तान सकेमा मात्र प्रशिक्षण फलदायी हुने विचार व्यक्त गर्दै शिक्षक तथा कर्मचारीहरुको क्षमता अभिवृद्विका लागि विद्यालयले यस्ता कार्यक्रमहरु निरन्तर गरिरहने प्रतिबद्वता व्यक्त गर्नुभएको थियो । विद्यालयका उप–प्राचार्य उमेश रेग्मीले सहजीकरण गर्नुभएका कार्यक्रममा सहप्राचार्य यसैगरी सह–प्राचार्य भीमसेन गौतमले सिकाइलाई ब्यवहारमा उतार्दै बालमैत्री कृयाकलापलाई शैक्षिक अध्यापनमा उतार्न सुझाव दिनु भएको थियो ।

 
 
  
 

You may also like