पशुपतिनाथमा साउने सोमबारको तयारी पूरा

काठमाडौं । पशुपतिनाथ मन्दिरमा साउनको पहिलो सोमबार आउने दर्शनार्थीको व्यवस्थापनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ । सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतका तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

सौरमास अनुसार साउनको पहिलो सोमबार साउन १ गते परेको छ । साउनको सोमबार पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले बिहान तीन बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइने कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए ।

जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन् सोही ढोकाबाट निस्कने गरी व्यवस्था मिलाइएको पनि उनले सुनाए । प्रहरी वृत्त गौशालाको नेतृत्वमा जनपद र सशस्त्र प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा दिने भएका छन् । महाशिवरात्रि र तीजको जस्तै गरी सुरक्षालगायत व्यवस्थापन गरिएको कोषले जनाएको छ ।

 
 
  
 

You may also like