एसिसी इमर्जिङ टिम्स कप : नेपाल आज पाकिस्तानसँग भिड्दै

काठमाडौं । एसिसी इमर्जिङ टिम्स कपमा आज (शुक्रबार) नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ । बिहीबारबाट सुरु भएको प्रतियोगितामा नेपाल विजयी सुरुवातको प्रतीक्षामा छ । कोलम्बो क्रिकेट ग्राउन्डमा नेपाली समय अनुसार खेल १०ः१५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो दिन बिहीबार श्रीलंका र अफगानिस्तानले विजयी सुरुवात गर्दा दोस्रो दिन नेपाल पाकिस्तानलाई हराएर आफ्नो बलियो सुरुवातको लक्ष्यमा रहेको छ । शुक्रबार नै हुने दोस्रो खेलमा भारत र युएईको ‘ए’ टिमबीच पनि प्रतिस्पर्धा हुँदैछ ।

एसिसी इमर्जिङ टिम्स कपमा नेपाल बाहेक बाँकी सबै ७ टिमले ‘ए’ टिमलाई सहभागिताका लागि श्रीलंका पठाएका छन् । नेपालले पनि नियमित टिममा केही खेलाडी हेरफेर गरेपनि आफ्नो राष्ट्रिय टिमनै श्रीलंका पठाएको छ । नेपालले एसियाकपको तयारीका लागि राष्ट्रिय टिमनै पठाएको जनाएको छ ।

जिम्बाब्वे विश्वकप छनोटमा गएको टिमका पाँच खेलाडी अहिले टिममा छैनन् । जहाँ नयाँ अन्य खेलाडीलाई अवसर दिइएको छ । टोलीमा ज्ञानेन्द्र मल्ल, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी अहिले टिममा छैनन् । दीपेन्द्र र सन्दीपले क्यानडमा हुने ग्लोबल टी–२० का कारण टिममा नरहँदा आरिफले टिम घोषणा भएपछि घरायसी कारण देखाएर नाम फिर्ता लिएका थिए ।

ज्ञानेन्द्र र करणलाई भने यो पटक टिममा बोलाइएन । समूह ‘बी’ मा रहेको नेपाले आफ्नो दोस्रो खेल १७ जुलाईमा भारत तथा समूह चरणको अन्तिम खेल १९ जुलाईमा युएइसँग खेल्ने कार्यतालिका छ ।

 
 
  
 

You may also like