कम्युनिष्टसंगको सहकार्यकै कारण पार्टी कमजोर ः काँग्रेस महामन्त्री कोइराला

by समतल अनलाइन

बुटवल। नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले कम्युनिष्टलाई लिस्नो दिएर बैतर्नी तार्ने काँग्रेस आफ्नै कारणले कमजोर भएको बताएका छन् ।

कम्युनिष्टसंग सहकार्य गर्ने काम राम्रो नभएको बताउँदै उनले काँग्रेससंगको सहकार्यकै कारण अहिले कम्युनिष्टले दुई तिहाईको सरकार बनाउने अवस्थामा पुगेको दाबी गरे ।

नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश पाँचको प्रथम परिषद बैठकलाई बुधबार बुटवलमा सम्बोधन गर्दै महामन्त्री कोइरालाले उक्त कुरा बताएका हुन् ।

मुलुकमा भएका परिवर्तन र बिकासमा काँग्रेसको ठूलो योगदान रहेको स्मरण गर्दै महामन्त्री कोइरालाले कम्युनिष्ट सरकारको काम आगामी उपनिर्वाचनले मापन गर्ने बताए ।

आगामी उपनिर्वाचन सरकारकालागि लिटमस टेष्ट भएको बताउँदै उनले उपनिर्वाचनले सत्ता परिवर्तन नगराएपनि सरकारका काम सही छ की गलत छ भनेर मापन गर्ने उल्लेख गरे ।

महामन्त्री कोइरालाले सरकारले संविधान कार्यान्वयनमा आनाकानी गरिरहेको बताउँदै संविधान प्रदत्त अधिकारलाई पनि केन्द्रीकृत गर्ने र जनतालाई कर थोपर्ने काम गरेकाले पनि उपनिर्वाचनमा काँग्रेसले जित्ने दावी गरे ।

पार्टीमा युवा नेता ज्यादै कम भएको बताउँदै उनले आरक्षणको व्यबस्था गरेर भएपनि युवालाई नेतृत्वमा ल्याउनु पर्ने बिचार व्यक्त गरे ।

आन्तरिक एकता हुन सके काँग्रेसलाई कसैले पनि हराउन नसक्ने दावी गर्दै महामन्त्री कोइरालाले पार्टीको आन्तरिक एकतामा जोड दिए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले प्रधानमन्त्री केपी ओलीले राष्ट्रियता बेचेका कारण नेपाली भूमिलाई भारतले आफ्नो नक्सामा राख्ने दुस्साहस गरेको आरोप लगाए ।

मुलुकलाई सुदृढ गर्न र लोकतन्त्रलाई बचाउनकालागि पनि पार्टीमा आन्तरिक एकता कायम हुनु पर्ने उनको भनाई थियो ।

नेपाल ट्रेड युनियन काँग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्र यादवले पार्टीको अन्तरद्वन्द्वले ट्रेड युनियनमा पनि असर गरेको बताउँदै पार्टीको अन्तरद्वन्द्व हटाउन पार्टी नेताहरुलाई आग्रह गरे ।

मुलुकको समृद्धिकालागि लगानीको वातावरण र मजदुरलाई काम गर्ने बातावरण हुनुपर्ने बताउँदै उनले ट्रेड युनियनमा समेत जवरजस्तीका सदस्यका कारण संस्थालाई समेत कमजोर बनाउने काम गरेको उल्लेख गरे ।

ट्रेड युनियन कांग्रेस प्रदेश अध्यक्ष मुकुन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्षहरु तेजेन्द्र कार्की, ललित श्रेष्ठ, उपमहासचिव गणेश केसी, निर्माण तथा सम्वद्ध श्रमिक संघका अध्यक्ष जेवि गुरुङ, नेपाल शिक्षक संघका महासचिव शोमनाथ गिरी, नेपाली काँग्रेस क्षेत्रीय सभापति हरि लम्साल, बुटवल उपमहानगर समितिका सभापति खेलराज पाण्डे, नेपाल ट्रेड युनियन काँग्रेस महिला समितिकी केन्द्रीय सचिव कविता अर्याल, टे«ड युनियन काँग्रेसका प्रदेश उपाध्यक्ष कृष्ण वेलवासे, रुपन्देहीका कार्यवाहक अध्यक्ष ओमप्रकाश चौधरी, नेपाल व्यूटिसियन संघकी प्रदेश अध्यक्ष विष्णु थापा लगायतले आ आफ्नो भनाई राखेका थिए ।

 
 
  
 

You may also like