लुम्बिनी पर्यटन प्रबर्दन औद्योगिक व्यापार तथा कृषि महोत्सवको तयारि तिब्र: प्रचण्डले उद्घाटन गर्ने

by समतल अनलाइन

रुपन्देही।उद्योग व्यापार संगठन रुपन्देहीले आगामी मंसिर ३ गतेदेखि १६ गतेसम्म भैरहवामा पाँचौं लुम्बिनी पर्यटन प्रबद्र्धन, औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ गर्ने भएको छ । यस अघि कार्तिक ५ गतेदेखि १६ गते सम्म महोत्सव गर्ने भनिए पनि दुई दिन अगावै महोत्सव सुरु हुने भएको हो ।महोत्सवको मंसिर ३ गते बिहान ११ बजे पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्ने उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक नारायण प्रसाद भण्डारीले बताए । महोत्सवको उद्घाटन सत्रमा पूर्व अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु प्रसाद पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सरकारका मन्त्री लगायतको उपस्थिति रहने उनले बताए ।

‘हामीले कृषि तथा पर्यटन प्रबद्र्धन गर्छौं नै त्यससँगै नेपालका प्रमुख पर्यटकीय गन्तव्यको पनि प्रचारप्रसार गर्छौं’, सोमबार संगठनले मेला सचिवालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रसाद भण्डारीले भने । ‘हामीले प्रवेशद्वार (गेट) लुम्बिनीस्थित मायादेवी मन्दिरको आकृति दिएर बनायौं भने सचिवालय पशुपतिनाथ मन्दिरको आकृति दिएर बनाएका छौं’, उनले भने, ‘महोत्सव स्थलमा बन्ने हरेक संरचनाले एउटा न एउटा पर्यटकीय स्थलको झल्को दिनेछ । ती स्थलमा सम्बन्धित ठाउँको जानकारीमूलक प्रचार सामाग्री पनि राख्छौं ।’भैरहवास्थित अञ्चलपुरमा हुने महोत्सवमा पर्यटकीय स्थलको परिचयात्मक फोटो प्रदर्शनी, लुम्बिनीसँग सम्बन्धित पुरातात्विक वस्तुलगायत मुलुककै पर्यटकीय स्थलको परिचय, सेल्फी जोन तथा लोकप्रिय पब्जी गेमको स्टलको व्यवस्था गरिने उनले बताए ।पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले संगठनले महोत्सव प्रचार सामाग्रीमा नै मायादेवी मन्दिर, तिलौराकोट, रामग्राम, स्वर्गद्वारी, सुपादेउराली, रेसुंगा, रानीमहल, फेवाताल, सौराहा, पशुपतिनाथ मन्दिर, रारा ताल, पाकडी वृक्षको फोटो राखेको छ । ‘कृषिसँगै पर्यटनबाट मुलुकको समृद्धि हुन्छ । यसैले हाम्रा सुन्दर गन्तव्यहरुलाई समेटेर प्रचार सामाग्री पनि बनाएका हौं’, अध्यक्ष भण्डारीले भने ।

महोत्सवमा उद्योग १ सय, व्यापार १ सय ५०, होटल २०, अटो १०, बैंक तथा वित्तीय संस्था २०, कृषि ६०, पर्यटकीय २० र अन्तर्राष्ट्रिय स्थल गरी ४ सय स्टल रहनेछन् । संगठनले आयोजना गर्ने महोत्सवमा यस वर्ष भारत, चीन, बंगलादेश, पाकिस्तान लगायत देशका उद्योगी–व्यवसायीले १० स्टल समेत राख्नेछन् । यसै क्षेत्रलाई समेट्ने गरी अहिले महोत्सवको दु्रत गतिमा तयारी भइरहेको स्टल दर्ता तथा बाँडफाड व्यवस्थापन उप–समिति संयोजक रामचन्द्र रेग्मीले जानकारी दिए ।स्टलमा रहेका खाद्यवस्तुको स्वच्छता तथा दररेटका लागि अनुगमन समिति बनाइएको स्टल संयोजक तथा संगठनका उपाध्यक्ष रामचन्द्र रेग्मीले बताए ।विदेशी स्टलहरु समेत महोत्सवमा राखिने भएकाले यसले फरकपना ल्याउँछ’, उनले भने, ‘स्वदेशी कृषि उत्पादन, उद्योग–व्यवसाय, विज्ञान प्रविधिको आकर्षण त छँदैछ ।’ महोत्सवमा उद्योग, व्यापार, कृषि र पर्यटनसँग सम्बन्धित ४ सयबढी स्टल रहनेछन् । करिब ७० लाख खर्च लाग्ने अनुमान गरिएको महोत्सवमा तीन लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेलामा ७० वर्ष उमेरमाथि र अपांगता भएका नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म जुनसुकै नागरिकलाई पनि निःशुल्क प्रवेश गराइनेछ । ‘यसले मेलाप्रति आम नागरिकको अपनत्व बढ्छ’, संगठनका महासचिव अनिल कुमार ज्ञवालीले भने । खासगरी धकधई, मर्चवार, सुर्यपुरा लगायत ग्रामीण क्षेत्रका दर्शकलाई लक्षित गर्दै यस्तो व्यवस्था गरिएको ज्ञवालीले जानकारी दिए ।मेलामा कृषि उत्पादनको प्रदर्शनी तथा कृषि उपजबाट निर्मित खानाका परिकार, घरेलु तथा साना उद्योग, महिला हस्तकला उत्पादनको प्रदर्शनी, वनजन्य जडीबुटीको प्रदर्शनी, औद्योगिक उत्पादन तथा मेसिनरी, विज्ञान तथा प्रविधि, होटल तथा रेष्टुरेन्ट, अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, दैनिक उपभोग्यवस्तु, बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारको कला, संस्कृति, लोक संस्कृति प्रदर्शनी गरिनेछ । त्यस्तै, कुस्ती, तेक्वान्दो र फुटबल खेला खेलाइनेछ भने उद्योग, कृषि र पर्यटनसँग सम्बन्धित गोष्ठीहरु आयोजना गरिनेछ ।महोत्सवमा जिल्लाभित्रका कृषि उत्पादनको स्टल राख्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सुरक्षालाई ध्यानमा राखी महोत्सव स्थललाई सीसी क्यामेराबाट निगरानी गरिनेछ भने सम्भावित आगलागीलाई नियन्त्रण गर्न प्रत्येक ५० फिटको दूरीमा फायर सिलिण्डर राखिनेछ । ‘हामीले उत्पादनको प्रदर्शनी मात्रै गर्ने होइन, सुरक्षालाई पनि उत्तिकै ध्यान दिएका छौं । मेलामा स्टल राख्ने उद्योगी–व्यवसायी र दर्शकले पूर्णरुपमा सुरक्षाको प्रत्याभूति पाउनुहुनेछ’, अध्यक्ष भण्डारीले भने ।

 
 
  
 

You may also like