राँगा–भैंसीको गफले पाउने गोबर मात्र हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा आफ्नो पार्टीका सांसदहरुको केही दिनयताको बहस अमर्यादित भएको भन्दै माफी मागेका छन् ।

आज (बिहीबार) को प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले विगत केही दिनयता प्रतिनिधि सभामा भएको छलफलबाट आफू लज्जित भएको बताएका हुन् । उनले प्रतिनिधि सभा बैठकमा राँगा र भैँसीको विषयमा गफ गरेर पाँच वर्ष बिताएमा गोबर बाहेक केही पनि नपाउने बताए । सो विषयमा गरेको गफप्रति आफू आत्मआलोचित भएको उनले बताए । सभापति लामिछानेले बजेटको विषयमा कुराकानी गरिरहँदा यस्तो विषय बैठकमा उठ्नुले सर्वसाधारणमा राम्रो सन्देश नगएको भन्दै आफ्नो भागमा पर्ने दोषप्रति आफू जिम्मेवार भएको र क्षमा याचना गर्ने बताए ।

उनले भने, ‘हामीले पार्लियामेन्टको डिग्निटी राख्नलाई कहीँ कतै चुकिरहेका त छैनौं ? यसबारेमा अलिकति ध्यानाकर्षण गराउन चाहन्छु । जस्ता जस्ता विषयहरुमा हामीले छलफल गर्‍यौँ हामी नयाँ राजनीतिक दलका हिसाबमा । चाहे ती हाम्रा पक्षबाट आएका हुन् या अन्य राजनीतिक दलबाट आएका विषयहरु हुन् । हामी कहीँ न कहीँ लज्जित भएका छौं । यो सदन भैँसी, राँगाको विषयमा गफ गरेर यदी पाँच वर्ष बिताउने हो भने हामीले गोबरबाहेक केही पनि प्राप्त गर्न सक्दैनौँ। हामी आत्मआलोचना गर्न चाहन्छौँ। हाम्रा दलबाट पनि भएका कमी, कमजोरीलाई आत्मआलोचना गर्न चाहन्छौं ।’

उनले भने, ‘नयाँ राजनीतिक दलका रुपमा हामी एउटा नयाँ अभ्यास लिएर आएका छौं । हामीले आज बजेटमा कुराकानी गरिरहँदा, राष्ट्रका महत्वपूर्ण मुद्दामा कुराकानी गरिरहँदा आम सर्वसाधारणमा संसदबाट राम्रो सन्देश गएको छैन । म आफ्नो भागमा परेको ब्लेम, आफ्नो भागमा परेको जुन दुःख छ, आफू जिम्मेवार हुन चाहन्छु र आफ्नो राजनीतिक दलको तर्फबाट गत केही दिनमा भएका बहसहरु अलिकति अमर्यादित भएकोमा क्षमा याचना गर्न चाहन्छु ।’
‘जनताको दिनचर्यालाई सम्बोधन गर्न सके बजेट सफल’
सांसद रवि लामिछानेले बजेटको प्राथमिकताले आमजनताको दिनचर्यालाई सम्बोधन गर्न सके मात्र बजेट सफल हुने धारणा व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै आज उनले बजेटमा राजस्वको आधार निर्धारणमा हेलचेक्र्याइँ गरिएको टिप्पणी गरे ।

उनले आफूहरुले उठाएका विषयकामा अर्थमन्त्रीसँग विश्वासिलो र भरपर्दाे जवाफ माग गर्दै आफूहरु रचनात्मक र सिर्जनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने स्पष्ट पारे । विकास बजेट विनियोजनामा ठूला र प्रभावशाली नेता तथा मन्त्रीका निर्वाचन क्षेत्रमा परम्परागत प्रवृत्ति देखिएको आशङ्का व्यक्त गर्दै उनले स्पष्ट पार्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।
सञ्चारमाध्यममा आएका विषयकै कारण संसद् अवरोध गर्न नहुने भन्दै त्यसको तथ्य जाँच गरेर स्पष्ट हुनुपर्ने उनको भनाइ थियो । खर्च कटौतीका नामका कतिपय संस्थाको महत्वलाई नजरअन्दाज गर्न नहुने उनले सुझाव दिए । सभापति लामिछानेले नागरिकताका सन्दर्भमा आफ्नो पार्टी कुनै पनि समुदायप्रति पक्षपाती नभएको समेत स्पष्ट पारे ।

सांसद रवि लामिछानेले नागरिक विधेयकका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी कुनै समूदायको विरुद्ध छ भन्ने भाष्य जबरजस्ती निर्माण गरेर निमुखा नागरिकलाई गुमराहमा राख्न खोजिएको भन्दै आपत्ति प्रकट गरे । उनले राजनीतिसँग कुनै सरोकार नहुँदा पनि प्राकृतिक विपत्ति, वैदेशिक रोजगारी र मिटरब्याज पीडितका समस्याका विषयमा आवाजविहीनहरुको आवाज बनेको बताए । लामिछानेले नागरिकले नागरिकता नपाउनुको पीडा समेत थाहा भएको भन्दै नेपाली नागरिक र एकल आमाका सन्तानको अधिकार सुनिश्चित हुनुपर्ने बताए ।
#रवि लामिछाने

 
 
  
 

You may also like