प्रधानमन्त्री प्रचण्डले गरे महाकालेश्वर मन्दिरमा पूजाअर्चना, चढाए १०८ किलो रुद्राक्ष

नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत मध्यप्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेका छन् ।

नयाँ दिल्लीबाट शुक्रबार इन्दोर पुगेका प्रधानमन्त्री प्रचण्डले विहान ११ बजे कालेश्वर मन्दिरमा पुगेर पूजाअर्चना गरेका थिए । महाकालेश्वर मन्दिरलाई १२ ज्योतिर्लिङ्गमध्ये एक मानिन्छ । उनले महाकाल मन्दिरमा आठ वटा लगेजमा लगिएको १०८ किलो रूद्राक्षले पनि विशेष पूजा गरेका छन् ।

नेपालमै उत्पादित काठमाडौंबाट लगिएको विशेष प्रकारको १०८ किलो रूद्राक्षले उक्त मन्दिरमा पूजा गर्ने तालिका थियो । त्यसक्रममा उनलाई मन्दिरका पुजारीहरुले स्वागत गरेका छन् । प्रधानमन्त्री प्रचण्ड मन्दिर पुग्दा ‘अतिविशिष्ट प्रोटोकल’ का कारण ६ घण्टासम्म सर्वसाधारणलाई पूजाअर्चनामा रोक लगाइएको थियो । प्रचण्डलाई मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार संयुक्त पत्रकार सम्मेलनमा महाकालेश्वरको दर्शनले अध्यात्मिक महसुस हुने प्रचण्डलाई विश्वास दिलाएका थिए । उनले भनेका थिए, ‘सम्माननीय प्रधानमन्त्री प्रचण्डजी, भोलि इन्दोर र धार्मिक सहर उज्जैनको यात्रा गर्नु हुनेछ । मलाई विश्वास छ, तपाईको उज्जैन यात्रा ऊर्जामयी हुनेछ र पशुपतिनाथदेखि महाकालेश्वरको यस यात्रामा तपाईलाई अध्यात्मिक अनुभूति मिल्ने छ ।’

 
 
  
 

You may also like