सुर्तीजन्य पदार्थ निषेधित तिलाेत्तमा र सिद्धार्थनगरलाई सम्मान

बुटवल ।सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थ निषेधित गरेको भन्दै नेपाल अर्वुद रोग निवारण संस्था रुपन्देहीले जिल्लाका दुई पालिकालाई सम्मान गरेको छ । नेपाल अर्वुद रोग निवारण संस्था रुपन्देहीले सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थ निषेधित पालिका घोषणा गरेका रुपन्देहीको तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकालाई सम्मान गरेको हो ।

विश्व सुर्तीजन्य पदार्थ विरुद्धकाे दिवसको अवसरमा बुधबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका संयाेजक उमाकान्त चपाईँ र संस्थाका अध्यक्ष खिमबहादुर हमालले यी दुई नगरपालिकालाई सम्मान गर्नुभयाे ।
त्यसैअवसरमा संस्थाले संस्थाका सदस्य तथा सल्लाहकार प्रवल जनसेवा श्रीबाट विभूषित निर्मलप्रसाद लाकाैल, लायन्स क्लव डिष्ट्रिकमा निर्वाचित फष्ट भाईस डिष्ट्रिक गभर्नर पुरुषाेत्तमभक्त प्रधानाङ्ग, सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, सुभयात्रा संस्थाका अध्यक्ष मधुसुदन गैरे र जिल्ला वचत तथा ऋण सहकारी संस्था रुपन्देहीका अध्यक्ष बसन्तप्रसाद ढकाललाई सम्मान गरेकाे छ ।

कार्यक्रममा बाेल्दै जिल्ला समन्वय समिति रुपन्देहीका संयाेजक चपाईँले मानव स्वास्थ्यलाई ध्यान दिएर सुर्तीजन्य पदार्थ विरुद्धकाे कानुनलाई कडाईका साथ कार्यान्वयन गर्न जिल्लाका पालिकाहरुलाई आग्रह गर्नु भयाे । उहाँले तिलाेत्तमा र सिद्धार्थनगरले सुर्तीजन्य पदार्थ निषेध गरेकामा धन्यवाद व्यक्त गर्दै निर्णय कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमनलाई संगसंगै अगाडि बढाउन सुझाव दिनुभयाे । जिल्लाका अरु पालिकालाई पनि सुर्तीजन्य पदार्थ विरुधकाे अभियानमा लाग्न आग्रह गर्नुभयाे । त्यस्तै उहाँले आफू पनि याे अभियानमा संगसंगै रहने प्रतिवद्धता व्यक्त गर्नु भयाे ।

तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकाले सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थ निषेधित पालिका घोषणा गरी क्यान्सर मुक्त समाज निर्माणको अभियानमा अग्रसर रहेकोले सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थ निशेधित गरेका तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकालाई सम्मान गरिएको नेपाल अर्वुद रोग निवारण संस्था रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालले बताउनु भयो । उहाँले यो कामको लागि नागरिक स्तरबाट पनि प्रोत्साहन मिलोस् र अरु पालिकालाई पनि प्रेरणा मिलोस भन्नको लागि सम्मान गरिएको भनाई राख्नु भयो ।

सम्मानित तिलाेत्तमा नगरपालिकाका प्रतिनिधि वडा अध्यक्ष गणेश पाठकले नगरपालिकालाई सम्मान गरेकाेमा संस्थालाई धन्यवाद दिदै सम्मानले नगरपालिकालाई थप प्रेरणा र हाैषला मिलेकाे भनाई राख्नुभयाे ।

सुर्तीजन्य पदार्थकाे सेवनका कारण विश्वमा प्रत्येक ८ सेकेन्डमा एक जनाकाे मृत्यु हुने गरेकाे वालराेग विशेषज्ञ डा. सन्ताेष पाेखरेलले बताउनु भयाे । उहाँका अनुसार सबैजसाे क्यान्सरमा सुर्तीजन्य पदार्थकाे सेवनले प्रत्येक्ष सम्बन्ध राख्छ । सुर्तीजन्य पदार्थ सेवनका कारण नेपालमा बर्सेनि १५ हजार मानिसकाे मृत्यु हुने गरेकाे छ ।

अधिवक्ता महेन्द्रप्रसाद पाण्डेले सुर्तीजन्य पदार्थकाे नियमन तथा नियन्त्रणकाे लागि सरकारले महासन्धिभन्दा पनि अगाडि पुगेर निर्णय गरेकाे दृष्टान्त प्रस्तुत गर्दै ऐनकाे कार्यान्वयनमा राज्य उदासिन भएकाे बताउनु भयाे । अनुगमन र कानुनकाे प्रभावकारी कार्यान्वयन हुन नसक्दा सुर्तीजन्य पदार्थकाे प्रयाेग बढ्दै गएकाे उहाँकाे भनाई छ ।

त्यस्तै सुर्तीजन्य पदार्थ विरुद्धकाे अभियानमा लायन्स पनि संगसंगै रहेकाे लायन्स डिष्ट्रिकका सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

सुर्तीजन्य पदार्थ नियमन, नियन्त्रण ऐन कार्यान्वयनका लागि संस्थाले जिल्ला प्रशासन तथा पालिकाहरुलाई ध्यानाकर्षण गराईएकाे र संस्थाकाे सुर्तीजन्य पदार्थ विरुद्धकाे अभियानमा सहयाेग मिलेकाे नेपाल अर्वुद रोग निवारण संस्थाका सचिव प्रजापाल गिरीले बताउनु भयो । कार्यक्रम संस्थाका कार्यसमिति सदस्य तथा कार्यक्रम संयाेजक हरिप्रसाद अर्यालकाे स्वागतमा भएकाे थियाे ।

 
 
  
 

You may also like