रौतहटको प्रहरी चौकीमा बम बिष्फोट, प्रहरी जवान घाइते

by समतल अनलाइन

रौतहट । रौतहटको इशनाथ नगरपालिका–४ मठिया प्रहरी चौकीमा बम विष्फोट भएको छ । मंगलबार दिउँसो पौने १ बजे अज्ञात समूहले चौकीमा सुतली बम प्रहार गरेको २–नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिएका छन् । बम बिष्फोटबाट चौकीमा कुनै क्षति भएको छैन भने एक जना प्रहरी जवान घाइते रहेको कार्कीले बताएका छन् ।
बिष्फोटमा संलग्न एक जना भारतीय नागरिक र उनी सवार मोटरसाइकललाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार बिआर ०५ एच ६५०९ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले प्रहरी चौकीमा सुतली बम प्रहार गरेका हुन् । बम प्रहार गरेर भागेकामध्ये भारत ढाका घर बताउने २५ वर्षीय चन्दनकुमारलाई प्रहरी चौकीबाट एक किलोमिटर टाढा नेपाल–भारत सिमाको दसगजाबाट पक्राउ गरिएको कार्कीले बताएका छन् ।

बम प्रहारबाट प्रहरी जवान रञ्जितकुमार यादवको काखीदेखि तिघ्रासम्म सामान्य चोट लागेको छ । घटनास्थलमा जिल्ला प्रहरीबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा १० प्रहरीले अनुसन्धान गरिरहेका छन् । पक्राउ परेकासँग प्रहरीले बम बिष्फोट गराएको घटनाबारे सोधपुछ र अनुसन्धान अगाडि बढाइसकेको छ ।

 
 
  
 

You may also like