बुटवलको सुखौरा खोला सरसफाई अभियान

बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सुखौरा खोलाको सरसफाइ अभियान चलाएको छ । खोलामा फोहोरका कारण दुर्गन्ध फैलिएको, डेंगुजस्ता रोग फैलिएको भन्दै बुटवल उपमहानगरपालिकाले वडा नम्बर ४, ६, ७ र ८ मा पर्ने सुखौरा खोला सरसफाई अभियान थालेको हो ।

अभियानको सुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलका खोलानालामा फोहोर फाल्ने प्रवृत्ति बढ्दै गएको र यसले दुर्गन्ध र रोगव्याधी फैलाएकोले सरसफाइ अभियान चलाइएको बताए । उनले सुखौरा खोला सफाइ गरेपछि बसपार्क र मुख्य सडकहरु सफा गर्ने अभियान चलाइने बताए ।

प्रमुख पाण्डेयले सार्वजनिक स्थल र खोलानालाहरुमा फोहोर नफाल्न आह्वान गर्दै आफूले गरेको फोहोर आफै व्यवस्थापन गर्नुपर्ने बताए ।

कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष नरिश्वर पौडेलले खोला क्षेत्रमा फोहोर फाल्नेलाई कानूनबमोजिम कारवाही हुने बताए । फोहोर व्यवस्थापन शाखाका प्रमुख ठगिश्वर पोखरेलले बुधबारदेखि ३ दिनसम्म हरेक दिन बिहान ७ बजेदेखि खोला क्षेत्रको सरसफाई सुरु हुने बताए ।

 
 
  
 

You may also like