कांग्रेस पदाधिकारी बैठक बस्दै, बालकृष्ण खाँण होलान् निलम्बित ?

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (बिहीबार) पनि बस्दैछ । पार्टी नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उत्पन्न परिस्थितिबारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो ।

हिजो बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनीमाथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन । बुधबार बसेको कांग्रेस पदाधिकारीको बैठकमा पूर्व पदाधिकारीमा प्रकाशमान सिंह मात्र सहभागी थिए । बैठकमा नक्कली शरणार्थी प्रकरणलगायत विषयमा छलफल हुनेछ ।

बुधबारको बैठकमा दुई महामन्त्रीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्न प्रस्ताव गरेका थिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्न प्रस्ताव गरेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीले अनुसन्धानमा सहयोग गर्न उनलाई निलम्बन गर्नुपर्ने महामन्त्री थापा र शर्माको तर्क थियो ।

 
 
  
 

You may also like