सिमानाका तथा भन्सार कडाई गर्न उद्योगी व्यवसायीको माग

बुटवल । खुला सिमानाका तथा सरकारको खुकुलो भन्सार नीतिका कारण नेपाली उद्योगी व्यवसायी मारमा परेको औंल्याउँदै बुटवलका उद्योगी व्यवसायीहरुले सिमानाका र खुकुलो भन्सार नीतिलाई कडाई गर्न माग गरेका छन् ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बिहिबार आयोजना गरेको बस्तुगत समितिहरुसंगको अन्तरक्रिया कार्यक्रममा बस्तुगत समितिका सभापतिहरुले सरकारको खुकुलो भन्सार नीतिका कारण नेपाली व्यवसायी मारमा परेको र सरकारको राजश्व संकलनमा समेत नकारात्मक असर परेको बताएका हुन् ।

कार्यक्रममा संघका सल्लाहकार तथा पूर्व अध्यक्ष नवराज श्रेष्ठले भन्सार जाँचलाई कडाई गर्नुपर्ने बताउँदै सिमा पारीबाट ल्याउने सम्पूर्ण माल बस्तुमा भन्सार लिने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यो समस्या बुटवलको मात्रै नभएको र आसपासका अन्य संघसंस्थासंग समन्वय र सहकार्यमा जोड दिँदै नेपाली उपभोक्तामा पनि सचेतना गराउनु पर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले मुलुकको गिर्दो अर्थतन्त्रका कारण यस क्षेत्रको व्यापार व्यवसाय पनि खस्किँदै गएको बताउँदै खस्किँदो व्यापार व्यवसायलाई कसरी संरक्षण गर्न र उठाउन सकिन्छ भन्ने उद्देश्यले व्यवसायीसंग सुझाव सल्लाह लिईएको र व्यवसायीले दिएका सुझाव सल्लाह अनुसार समाधानको पहलकदमी लिईने बताउनु भयो ।

खुल्ला सिमानाका र खुकुलो भन्सार नीतिका कारण नेपाली उद्योगी व्यवसायी मारमा परेको बताउँदै उहाँले यहाँका उद्योगी व्यवसायीलाई बचाउन भन्सारमा कडाई गर्न गुमिरहेको राजश्व संकलन गर्न पनि उहाँले सरकार गम्भिर हुनु पर्ने बताउनु भयो ।

कार्यक्रममा कपडा व्यवसायी बस्तुगत समितिका सभापति अनिल चुकेले नेपाली उपभोक्ताका कारण सिमापारीको व्यापार चम्किरहेको र नेपाली बजार सुनसान भएको बताउँदै भन्सारमा कडाई गर्ने हो भने केही हदसम्म भएपनि सुधार हुने बताउनु भयो । त्यस्तै मोटर पार्टस, टायर बस्तुगत समितिका सभापति लक्ष्मण ज्ञवालीले चोरी निकासीका कारण वैध व्यवसायीलाई समस्या भएको बताउनु भयो । उहाँले चोरी निकासी नियन्त्रणका लागि पहल गर्न आग्रह गर्नुभयो ।

फेन्सी बस्तुगत समितिका उपसभापति अरुणकुमार श्रेष्ठले बुटवलको मात्रै नभएर यस क्षेत्रका सबै बजारको समस्या भएको बताउँदै यस क्षेत्रका अरु संघहरुसंग पनि सहकार्य गरेर समस्या समाधानको लागि पहल गर्नुपर्ने भनाई राख्नुभयो । फुड एण्ड वेभरेज बस्तुगत समितिका सभापति कृष्णप्रसाद पाण्डेले कोरोना महामारीको समयमा सिमानाका बन्द हुँदा बरु राम्रो व्यापार भएको बताउँदै खुल्ला सिमानाका यहाँका व्यवसायीको प्रमुख समस्या भएको बताउनु भयो ।

दैनिकउपभोग्य बस्तुगत समितिका सभापति नारायणप्रसाद भुसालले पारीबाट किनमेल गरेर ल्याउने सामानमा भन्सार गर्ने परिपार्टी मिलाउने हो भने यहाँका सबै प्रकारका व्यवसायीको समस्या समाधान हुने बताउनु भयो । ‘जना पाईँदैन भन्न त मिल्दैन, भन्सार नगरीकन ल्याउनै नपाईने व्यवस्था मिलाउने हो भने पारी जाने प्रबृत्तिको पनि अन्त्य हुन्छ र सरकारलाई राजश्व संकलनमा पनि सहयोग पुग्छ ।’ उहाँले भन्नुभयो ।

डेरी बस्तुगत समितिका सभापति गणेशसिंह भण्डारीले एउटा विवाहको कार्ड देखाउने हो भने सिंगो पसललाई पुग्ने लत्ता कपडा पारीबाट ल्याउन सकिने बताउँदै यसलाई रोक्नको लागि संघले पहल गर्नुपर्ने भनाई राख्नुभयो । संघका महासचिव बिमलराज भट्टराईको धन्यवादमा भएको कार्यक्रममा कार्यसमिति सदस्यहरु प्रकाश श्रेष्ठ, प्रतिक पोखरेल, व्यवसायीहरु सुनिता वञ्जाडे, कृष्ण पन्थ लगायतले भनाई राख्नुभएको थियो ।

 
 
  
 

You may also like