लाओसलाई हराउँदै नेपालले जित्यो प्रधानमन्त्री कप फुटबलको उपाधि

काठमाडौं । नेपालले लाओसलाई हराउँदै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ । शुक्रबार दशरथ रंगशालामा सम्पन्न फाइनलमा नेपालले पहिलो हाफमै गोल खाएपनि उत्कृष्ट पुनरागमन गर्दै २(१ को जित दर्ता गरेको हो ।

लाओसका लागि फोन्साक सिसाभाथले अग्रता दिलाएपछि नेपालका आयुष घलानले बराबरी गोल फर्काए । मनिष डाँगीले अन्त्यतिर गोल गर्दै नेपाललाई उपाधि दिलाए ।

खेलको १७ अ‍ौं मिनेटमा लाअ‍ोसले अग्रता लियो । उत्कृष्ट पासिङ मुभमा निर्मित आक्रमणलाई फोन्साक सिसाभाथले गोलमा परिणत गरे । पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पास डिफ्लेक्ट हुँदा डिफेन्स लाइन बिट भएपछि फोन्साकले सहजै गोल गरे ।

२२ अ‍ौं मिनेटमा नेपालको बराबरी गर्ने प्रयासमा गोलरक्षक सेसाभाथ बाधक बने । नविन लामाको फ्रिकिकमा सनिश श्रेष्ठको प्रयास गोलरक्षकले बचाएका थिए ।

२४ अ‍ौं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । आयुष घलानले पेनाल्टी क्षेत्र भित्र सुन्दर फिनिस गरेपछि नेपाल बराबर गर्न सफल भयो । एरिक विष्टले दिएको पासलाई आयुषले पेनाल्टी क्षेत्र भित्र अघि बढाउँदै गोल गरे ।

लगत्तै नेपालले अग्रता लिने अवसर गुमायो । मनिषले विंग ब्याकलाई बिट गरेपछि पेनाल्टी क्षेत्र भित्र कटब्याक गर्दै नविनलाई दिए । नविनले ६ यार्ड बक्स अगाडीबाट दिएको पास आयुषले गोल गर्न सकेनन् ।

दोस्रो हाफको ५५ औं मिनेटमा नेपाल अग्रता लिनबाट चुक्यो । मनिष डाँगीले दायाँ विंगबाट दिएको क्रसलाई दिपक र आयुषले ६ यार्ड बक्स भित्रबाट गोलको दिशा दिन सकेनन् ।

६१ औं मिनेटमा आयुषले अग्रता दोब्बर पार्ने सुवर्ण अवसर गुमाए । नविनको क्रसमा गोलरक्षक फ्रन्ट पोस्टमा बिट भएपछि आयुषले खाली पोस्टमा हेडरलाई पोस्टको दिशा दिन सकेनन् ।

६९ औं मिनेटमा निशान खड्काको फ्रिकिक क्रसबारमा लागेर फर्कंदा नेपाल अग्रता लिनबाट बन्चित भयो । ७४ औं मिनेटमा मनिष डाँगीले अन्जन विष्टको प्रहारमा आएको रिबाउन्डलाई पोस्टभित्र छिराएपनि असिस्टेन्ट रेफ्रीले अफसाइडका लागि झन्डा उठाए ।

खेलको ८७ औं मिनेटमा मनिषले नेपाललाई अग्रता दिलाए । अन्जनले दिएको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै मनिषले गरेको शक्तिशाली लो प्रहार गोलरक्षकले बचाउन सकेनन् ।

 
 
  
 

You may also like