तिलोत्तमा-१७ का स्वास्थ्य स्वयंसेविकालाई साइकल बितरण

बुटवल ।सेवा प्रवाहलाइ थप गतिशिल बनाउनका लागि रुपन्देहीको तिलोत्तमामा क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल बितरण गरिएको छ । करिब २ लाखको लागतमा तिलोत्तमा वडा न १७ का १६ जना स्वास्थ्य स्वयंसेविकालाई नगर प्रमुख रामकृष्ण खाँण,१७ का वडाध्यक्ष दानबहादुर चौधरी लगायतले साइकल बितरण गर्नुभएको हो ।

सो अबसरमा बोल्दै नगर प्रमुख रामकृष्ण खाँणले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान पु¥याउँदै आएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस भन्ने उद्देश्यले साइकल वितरण गरिएको बताउनुभयो ।

‘मानव जीवनको आधारभूत आवश्यकता स्वास्थ्य क्षेत्रको विकास र सुधार गर्न जरुरी छ’, उहाँले भन्नुभयो – ‘सबै मिलेर स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्छ । ’कोरोनाको महामारीमा पनि स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेखनीय रहेको भन्दै नगरलाइ स्वास्थ्यक्षेत्रमा अब्बल बनाउन थप योगदान दिन आग्रह गर्नुभयो ।
‘स्वयंसेविकालाई स्वास्थ्यसम्बन्धी काम गर्दा सजिलो होस भनेर साइकल वितरण गरेका हौँ तिलोत्तमा १७ का ’वडाध्यक्ष चौधरीले भन्नुभयो ।महिला स्वास्थ्य स्वयंसेविका साबित्रा पाण्डे बस्यालले साइकल बितरण आवश्यक रहेको र यसले सेवाप्रबाहमा आफूहरुलाइ सजिलो हुने र घरघरमा पुग्ने बताउनुभयो ।

कार्यक्रममा तिलोत्तमा वडा न १७ का सचिव हरिप्रसाद खतिवडा, वडा न ५ का वडाध्यक्ष रमेश डुम्रे,शोभा राना, टोलबिकासका अध्यक्ष बुद्धिबल न्यौपाने,वडासदस्य सन्तबहादुर बस्नेत लगायतले बोल्दै साइकलको सहि सदुपयोग हुनुपर्ने बताउनुभयो ।

महिला स्वास्थ्य स्वयंसेविकाले आ–आफ्नो क्षेत्रमा स्थायी-अस्थायी परिवार नियोजनबारे परामर्श र सेवा उपलब्ध गराउने, मातृ स्वास्थ्य प्रवद्र्धनअन्तर्गत गर्भवती महिलालाई स्वास्थ्य संस्थामा ४ पटक गर्भ जाँचका लागि प्रोत्साहन, गर्भवती महिलालाई आइरन चक्की वितरण, स्वास्थ्य संस्थामा प्रसूति गराउन प्रोत्साहनलगायत काम गर्दै आएका छन् ।

 
 
  
 

You may also like