भारतको महाराष्ट्रमा एचथ्री एनटू भाइरस संक्रमित दुई जनाको मृत्यु

नयाँदिल्ली । भारतको पश्चिमी राज्य महाराष्ट्रमा एचथ्री एनटू भाइरस संक्रमित दुई जनाको बुधबार मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

महाराष्ट्रका स्वास्थ्यमन्त्री तानाजी सावन्तले संक्रमित मृतकमध्ये एक जना अहमदनगर जिल्लाका मेडिकल विद्यार्थी भएको र अर्को एक जना नागपुरका ज्येष्ठ नागरिक भएको जानकारी दिए । ‘दुवै बिरामीमा अन्य थुप्रै समस्या पनि उपचारका क्रममा देखिएको थियो,’ उनले भने ।

दुई जनाको मृत्यु भएको पुष्टि भएपछि स्थानीय सरकारले संक्रमण हुनबाट सावधानी अपनाउन स्वास्थ्य प्रशासन र राज्यभरका अस्पताललाई सचेत गराएको छ । राज्यमा हालसम्म तीन सय ५० भन्दा बढी बिरामीमा एचथ्री एनटू भाइरसको संक्रमण पुष्टि भएको छ ।

भारतका धेरै भागहरूमा फ्लुका बिरामीहरू बढेका छन् र बिरामीहरूले लामो समयसम्म खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वाससम्बन्धी समस्याहरूको गुनासो गरिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयले एकीकृत रोग निगरानी कार्यक्रम (आईडीएसपी) सञ्जालमार्फत विभिन्न राज्यमा मौसमी फ्लुको अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ । भारतको काउन्सिल अफ मेडिकल रिसर्चले पनि मौसमी फ्लुको रोकथामका लागि सावधानीबारे परामर्श जारी गरेको छ ।

गत हप्ता सङ्घीय स्वास्थ्य मन्त्रालयले कर्नाटक र हरियाणामा एचथ्री एनटू इन्फ्लुएन्जाका कारण एक-एक जनाको मृत्यु भएको पुष्टि गरेको थियो । सिन्ह्वोड

 
 
  
 

You may also like