यूएईविरुद्ध बलिङ गर्दै नेपाल , ११ हजार टिकट विक्री, विहानैदेखि दर्शकको भीड

काठमाडौँ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाअन्तर्गत यूएईसँगको खेलमा नेपालले टस हारेको छ ।

त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालले पहिला बलिङको निम्तो पाएको छ । खेल साढे ९ बजेदेखि सुरु हुनेछ ।

लिग–२ को अन्तिम शृङ्खलाको यो खेल नेपालका लागि निर्णायक मानिएको छ । आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जुन-जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्व कप ग्लोबल छनोटमा पुग्नेछ । यूएईसँग हारेमा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपाल पराजित भएमा नामिबिया सोझै विश्व कप छनोटमा पुग्नेछ ।

नेपाल र यूएईबीच अहिलेसम्म १२ एक दिवसीय खेल भएको छ । जसमा समान छ खेलमा जित र हार छ । नेपालले पछिल्ला दुवै खेलमा यूएईलाई हराएको छ ।
नेपाल–यूएईबीचको खेल हेर्न ११ हजार टिकट बिक्री
आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदैछ ।
बिहान ९ः३० बजेदेखि त्रिवि क्रिकेट मैदानमा हुने अन्तिम खेल हेर्न सबै टिकट चैत १ गते नै बिक्री भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

क्यानका अनुसार आजको खेल हेर्नका लागि ११ हजार टिकट बिक्री भएको छ । जसमध्ये १० हजार टिकट अनलाइनबाटै बिक्री भएको क्यानले जनाएको छ । त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा बिहानैदेखि दर्शक पुग्न थालेका हुन् । बिहान ७ः ४५ बजे नै दर्शक छिर्ने गेट खुलाइएपछि खेल मैदानमा भीड बढेको छ ।

 
 
  
 

You may also like