मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको विजय

by समतल अनलाइन

काठमाडौं । लियोनल मेस्सीले ह्याट्रिक गर्दा स्पेनिस ला लिगामा बार्सिलोनाले सेल्टा भिगोमाथि ४–१ को विजय हासिल गरेको छ ।

क्याम्प नोउमा भएको खेलमा मेस्सीले दुई वटा उत्कृष्ट फ्रिकिक र एउटा पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । २३ औं मिनेटमा जुनियर फिर्पोले प्रहार गरेको बल सेल्टाका डिफेन्डर जोसेफ आइडोको हातमा लागेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो ।

मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ४२ औं मिनेटमा सेल्टाका लुकास ओलाजाले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै खेल बराबरीमा पुर्‍याए । त्यसको चार मिनेपछि मेस्सीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई फेरि अग्रता दिलाए । ४८औं मिनेटमा मेस्सीले ह्याट्रिक पूरा गर्दा बार्सिलोनाले अग्रता ३–१ मा लम्ब्यायो ।

खेल सकिन पाँच मिनेट बाँकी हुँदा सर्जियो बुस्केट्सले गोल गर्दै बार्सिलोनालाई ४–१ को जित दिलाए । जितसँगै बार्सिलोनाले रियल मड्रिडलाई पछाडि धकेल्दै शीर्ष स्थानमा उक्लिएको छ । यसअघि रियलले एइबारलाई ४–० ले हराएको थियो । दुवै टिमको २५ अंक छ । रियल मड्रिडभन्दा बार्सिलोना दुई गोलले अघि छ ।

 
 
  
 

You may also like