घोराहीमा एक महिलामाथि सामुहिक बलात्कार, दुई जना पक्राउ

दाङ । दाङको घोराहीमा एक महिलालाई जबजस्ती सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगर–१७ का ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरी रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गएको शुक्रबार राति घोराही–१७ मा उनीहरुले २९ वर्षीया एक महिलालाई सामुहिक बलात्कार गरेका आरोप छ । विगत ३ महिनाअघि ती महिला आफ्ना श्रीमानको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएकी थिइन् । श्रीमानको उपचार गर्दा पैसा सकिएपछि पति–पत्नी घोराहीमा मागेर जीविकोपार्जन गर्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीका अनुसार माग्न हिंड्ने क्रममा उनीहरु घोराही–१७ बेलभारस्थित गजु चौधरीको घरमा पुगेपछि शुक्रबार राति चौधरीकै घरको आँगनमा बास बसेका थिए । आफ्ना पतिसँग सुतिरहेको अवस्थामा निर्मल र मनोजले महिलाका पतिलाई कुटपिट गरी महिलालाई लतार्दै २५ मिटर पर लगेर सामुहिक करणी गरेको प्रहरीले जनाएको छ ।

पीडितको जाहेरीको आधारमा उनीहरूउपर जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरिएको एसपी ओलीले जानकारी दिए । आइतबार दाङ जिल्ला अदालतबाट उनीहरुलाई ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like