हाटबजार व्यवसायी संघ रुपन्देहीको १७ औं साधारणसभा

बुटवल। ‘सानो लगानी ठूलो आकांक्षा हाटबजारबाट आत्मनिर्भरता’ भन्ने मुल नारासहित स्थापित भएको संस्था हाटबजार व्यवसायी संघ रुपन्देहीको १७ औं वार्षिक साधारणसभा आइतबार बुटवलमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष टेक बहादुर जिसीको वार्षिक प्रतिवेदन, महासचिव हुमाराम पोखरेलको प्रगति प्रतिवेदन र कोषाध्यक्ष ईश्वरचन्द्र भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक उमाकान्त चपाईको प्रमुख आतिथ्यता रहेको थियो । चपाईले बोल्दै हाटबजार व्यवसायीका समस्या आफूले बुझेको भन्दै त्यसको पहलका लागि अघि बढ्ने बताए । प्रदेशको राजधानी बुटवल राखेको भए उद्योगी, व्यवसायी फस्टाउनुका साथै बुटवल मण्डपमा निर्माण भएको अन्तराष्ट्रिय सम्मेलन केन्द्र सुनसान नहुने बताए । उनले हाटबजार व्यवसायीले मानवीय सेवामा समर्पित भएर रक्तदान गरी सामाजिक कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै हार्दिक धन्यवाद दिदैं प्रशंसा गरेका थिए ।

त्यस्तैगरी कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं। ४ का वडा अध्यक्ष नरिश्वर शर्मा पौडेलले बोल्दै हाटबजारलाई व्यवस्थि गर्नका लागि वडा र नगरपालिकाले हातेमालो गरी अघि बढ्ने बताए । उनले बुटवलका हाटबजार र आसपासका बजारमा फोहोर व्यवस्थापन, चर्पी तथा भौतिक पूर्वाधारमा सक्दो सहयोग गरेको बताउँदै व्यवसायीलाई गुणस्तरीय बस्तु बेच्न सुझाव दिए ।

त्यस्तैगरी संस्थाका निवर्तमान अध्यक्ष भीमलाल ज्ञवालीले बोल्दै संस्थाले १७ औं साधारणसभा मनाईरहँदा पनि हाटबजारका न्यूनतम पूर्वाधार निर्माणका विषयमा बोल्नुपर्ने अवस्था नगरपालिकाले खडा गरेको बताए । उनले हाटबजार पूर्वाधार विकास कोषमा नगरपालिकाले रकम विनियोजन गर्दै आईरहेकोमा अहिले उक्त रकम विनियोजन नभएकोमा गुनासो व्यक्त गरेका थिए ।

त्यस्तैगरी संस्थाका संस्थागत अध्यक्ष बाबुराम पोखरेलले सबै लघुवित्त र सहकारी खराब नभएको बताउँदै व्यवसायीले इमान्दारिताका साथ राज्यलाई कर तिनुपर्ने बताए । उनले सरकारले निजी क्षेत्रलाई लगाउने कर चर्को भएको बताउँदै व्यवसायीलाई विदेश पलायनबाट रोक्न र गुणस्तरीय सामान बिक्री गर्न सुझाव दिए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष पदम प्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराई, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसी, बुटवल उपमहानगरपालिकाका पूर्व नगरप्रमुख पुनाराम पोख्रेल, नेकपा एमालेका बुटवल नगर सचिव मेघराज भट्टराई, नेकपा माओवादी केन्द्रका बुटवल नगर अध्यक्ष महेन्द्र भुसाललगायतले शुभकामना मन्तव्य दिदै व्यवसायीको हकहितका लागि आफ्नो तर्फबाट निरन्तर लाग्ने प्रबिद्धता व्यक्त गरेका थिए ।

त्यस्तैगरी कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयका डिएसपी होम बहादुर थापा, रुपन्देही व्यापार संघका महासचिव दयानिधि भण्डारी,होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमलगायतको उपस्थित रहेको थियो । संस्थाले साधारणसभाको पूर्व सन्ध्यामा रक्तसञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान गरेर ५० युनिट रगत संकलन गरेको थियो । सोही अवसरमा रक्तदान तथा आर्थिक सहयोग गर्ने संस्थाका सदस्यहरुलाई सम्मान गरेको थियो ।

विंसं२०६३ सालमा स्थापना भएको हाटबजार व्यवसायी संघ रुपन्देहीमा सैनामैना, तिलोत्तमा, देवदह, शुद्धोधन सियारी र कञ्चनपुर गरी ५ वटा शाखाहरु रहेका छन् । कार्यक्रममा संस्थाका अध्यक्ष टेक बहादुर जिसीको अध्यक्षतामा उपाध्यक्ष कृष्णप्रसाद पौडेलको स्वागत मन्तव्यमा कार्यक्रमको सञ्चालन महासचिव हुमाराम पाखे्रलले गरेका थिए ।

 
 
  
 

You may also like