नव निर्वाचित राष्ट्रपति पौडेललाई वधाई दिंदै प्रचण्ड र देउवाले हाले अंगालो

काठमाडौं । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बधाई दिएका छन् । संसद भवनको हलभित्र प्रधानमन्त्री दाहालले नव निर्वाचित राष्ट्रपतिलाई बधाई दिएका हुन् । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एउटा राजनीतिक कोर्स सकिएको बताएका छन् ।

नौदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा विजयी गराएपछि प्रचण्डले एउटा राजनीतिक कोर्स सकिएको बताएका हुन् । ‘राजनीतिको एउटा कोर्स कम्प्लिट भयो । सफलतापूर्वक निर्वाचन प्रकृया सम्पन्न भयो’, प्रचण्डले भने । उनले अब सरकारलाई पूर्णता दिने र जनताको सेवा गर्ने विषयमा केन्द्रित हुने पनि बताए । प्रचण्डले उपराष्ट्रपति निर्वाचनपछि सरकारले पूर्णता पाउने बताए । त्यसका लागि आफूहरु गृहकार्यमा रहेको उनको भनाइ छ ।

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि नव निर्वाचित पौडेललाई वधाई दिएका छन् । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले वधाई दिंदै पौडेललाई अंगालो हालेका थिए । यस्तै अन्य नेताहरुले समेत नवनिर्वाचित राष्ट्रपति पौडेललाई वधाई दिएका छन् ।

बिहीबार पौडेल नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले संघतर्फ १६ हजार ९०६ र प्रदेशतर्फ १६ हजार ९६ गरी कुल ३३ हजार ८०२ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले भने प्रदेशतर्फ सात हजार ७७६ र संघतर्फ सात हजार ७४२ गरी कुल १५ हजार ५१८ मत प्राप्त गरेका थिए ।

 
 
  
 

You may also like