आइसिसी लिग–२ : नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

by समतल अनलाइन

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले शानदार र सनसनीपूर्ण प्रदर्शन गर्दै स्कटल्याण्डलाई पराजित गरेको छ । नेपालले सबै चार खेल जितेर ‘सिरिज क्लिन स्वीप’ गरेको छ ।

नेपालले आफूभन्दा बलिया स्कटल्याण्ड र नामिबियालाई पराजित गरेको हो । अन्तिम खेलमा नेपालले च्याम्पियन बनिसकेको स्कटल्याण्डमाथि २ विकेटको सनसनीपूर्ण जित निकाल्यो । यसअघिको भिडन्तमा पनि नेपालले स्कटल्याण्डमाथि सनसनीपूर्ण जित नै निकालेको थियो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको अन्तिम खेलमा २१३ रनको विजयी लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कप्तानी इनिङ्स खेल्ने क्रममा रोहित पौडेलले ९५ रन जोडे । उनले ४ छक्का र ७ चौकाको मद्दतले १०१ बलमा अविजित रहँदै ९५ रन बनाएका हुन् ।

त्यस्तै अलराउण्डर करण केसीले ३७ बलमा अविजित रहँदै ३१ रन बनाए । नवौं विकेटका लागि रोहित र करणले अविजित रहँदै ७५ रनको साझेदारी गरे । मार्क वाट्ले ३ तथा क्रिस ग्रिभ्सले २ विकेट लिए । यसअघि श्रृंखलाको सबैभन्दा सशक्त बलिङ गरेको नेपालले लिग–२ च्याम्पियन स्कटल्याण्डलाई ४६.१ ओभरमा अलआउट गर्दै २१२ रनमा समेट्यो । स्कटल्याण्डका लागि जर्न मुन्सेले सर्वाधिक ६० रन बनाए । त्यस्तै म्याथ्यु क्रसले ४२ तथा ब्रान्डन म्याकमुलेनले ३१ रन जोडे । नेपालका लागि बलात्कारको आरोप खेपिरहेका स्पिनर सन्दीप लामिछानेले ४ विकेट लिए । उनले यो श्रृंखलामा १३ विकेट लिए ।

त्यस्तै करण केसीले ३ विकेट लिए । करणले एक दिवसीयमा ५० विकेटको कोसेढुङ्गासमेत पूरा गरेका छन् । त्यस्तै कुशल मल्ल र ललित राजवंशीले १–१ विकेट लिए । यसअघि नेपालले लगातार तीन जित हासिल गरेको थियो । नेपालले नामिबियासमेत सम्मिलित श्रृंखलामा नामिबियालाई दुवै खेलमा हरायो भने स्कटल्याण्डलाई पनि दुवै खेलमा हराएको हो ।

नेपालले यसअघि नामिबियालाई ३ विकेट र २ विकेटले हराएको थियो भने स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो । नेपालले सबै खेलमा रन पछ्याउँदै जित्न सफल भएको हो । यही श्रृंखलामै नेपालले २८६ रनको सबैभन्दा फराकिलो चुनौती पूरा गरेको थियो । नेपाल पहिलो पटक यो श्रृंखला खेल्न नेपाल आएको थियो । तर दुवै खेलमा हार बेहोरेको छ । विश्वकप लिग–२ मा स्कटल्याण्डले आज ३६ औं तथा अन्तिम खेल खेल्यो । सात टिम सहभागी लिगमा स्कटल्याण्ड ५० अंकसहित च्याम्पियन भएको हो ।

३६ खेल खेलिसकेको ओमान ४४ अंकसहित दोस्रो स्थानमा रहेको छ । दुई खेल खेल्न बाँकी छँदै नामिबियाको ३७ अंक छ । त्यस्तै चौथो स्थानको अमेरिकाले सबै खेल खेलेर ३५ अंक जोडेको छ । पाँचौं स्थानको यूएईले २६ खेलबाट २७ अंक जोडिसकेको छ । नेपालले २८ खेलबाट २६ अंक जोडेको छ । त्यस्तै पुछारको पपुवा न्यूगिनीको २८ खेलमा मात्र ५ अंक छ ।

 
 
  
 

You may also like