शिक्षा क्षेत्रको बिकास बिना अन्य क्षेत्रको बिकास असम्भव ः मन्त्री चौधरी

by समतल अनलाइन

रुपन्देही। लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार तथा योजना मन्त्री ईन्द्रजीत थारुले शिक्षा क्षेत्रको बिकास बिना अन्य क्षेत्रको बिकास असम्भव रहेको बताउनु भएको छ ।

रुपन्देहीको सियारी स्थित लिलाधर घिमिरे छपिया जनता कलेजको आठौं बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणालीलाई बिकास गर्दै जानु पर्नेमा जोड दिनुभयो ।

मन्त्री चौधरीले नेपालमा अहिलेसम्म पनि दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै राज्यको तर्फबाट शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएर जानु पर्ने अबस्था खड्किएको बताउनु भयो । उहाँले पुर्वाधारको पनि पुर्वाधार शिक्षा क्षेत्र भएको बताउदै मानव संसाधनको बिकासले मात्रै समाजको बिकास प्रक्रियाले सहि दिशा आत्मसाथ गर्ने बताउनु भयो ।

उहाँले ज्ञान र व्यवहारलाई एक साथ अगाडि बढाउनु पर्ने बताउदै संबिधान अनुसार प्राथमिकतामा परेको शिक्षालाई बजेटमा पनि प्राथमिकतामा पारेर लैजानु पर्नेमा जोड दिनुभयो ।

मन्त्री चौधरीले शिक्षालाई व्यवस्थीत गर्न नसक्दा सम्म आर्थिक समृद्धिको कल्पना समेत गर्न नसकिने उल्लेख गर्दै शिक्षा क्षेत्रको बिकाससंगै भौतिक पुर्वाधारको बिकास बढाउनु पर्ने बताउनु भयो ।
सो अबसरमा बोल्दै लुम्बिनी प्रदेशका पुर्व शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री तथा प्रदेश सांसद वसिउद्धिन खाँले रुपन्देहीको शिक्षा क्षेत्रको समग्र बिकासका लागि आफु निरन्तर लाग्ने बताउनु भएको छ । उहाँले शिक्षामा पछाडि रहेको मर्चवार तथा आसपासको क्षेत्रलाई शिक्षाको मुलधारमा ल्याउनका लागि प्रदेश सरकारसंग आफुले निरन्तर काम गर्ने बताउनु भयो ।
त्यस्तै प्रदेश सांसद हेमा बेल्वासेले सैद्धान्तीक ज्ञानका साथै व्यवहारिक र सिपमुलक ज्ञानलाई एकसाथै अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष बिद्धराम बन्जाडेको स्वागत तथा सहायक प्रधानाध्यापक तेजप्रसाद खरेलको सञ्चालनमा भएको कार्यक्रममा सियारी गाँउपालिकाका उपाध्यक्ष तारा थारु, कलेजका प्रधानाध्यापक लोक बस्याल, पव्लिक माविका प्रधानाध्यापक डिलाराम खनाल, सहायक प्रधानाध्याक ईन्द्रप्रसाद तिवारी लगाएतले बोल्दै शिक्षा क्षेत्रको समग्र बिकासका लागि तीनै तहका सरकारले आबश्यक सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

सो अबसरमार अध्यक्ष घिमिरेले सियारी क्षेत्रको शिक्षा र पुर्वाधान बिकासका लागि प्रदेश सरकारसंग आग्रह गर्नु भएको छ । उहाँले गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल देखि प्रदेशको स्थायि राजधानी भालुवाङ जोड्ने फास्ट ट्रयाकको कामलाई गती दिन मन्त्री चौधरीलाई आग्रह गर्नुु भयो ।
कार्यक्रममा कलेजलाई सहयोग गर्ने दाता, छात्रबृति स्थापना गर्ने व्यक्ति, छात्रबृति पाउने बिद्यार्थी तथा उत्कृष्ट कार्यसम्पादन गर्ने प्राध्यापक तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।

 
 
  
 

You may also like