ग्यास सिलिण्डर पड्किँदा कांग्रेस सांसद भण्डारी र आमा घाइते, कीर्तिपुर अस्पतालमा उपचार हुँदै

by समतल अनलाइन

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको काठमाडौं बुद्धनगरस्थित घरमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर विष्फोट भएको छ ।

बुधबार राति खाना पकाइरहेका बेला गुल्मी निर्वाचन क्षेत्र नम्बर–१ का संघीय सांसद भण्डारीको घरमा सिलिण्डर विष्फोट हुँदा उनी र आमा जलेर घाइते भएका हुन् । भण्डारी र उनकी आमा दुवै जनालाई तत्कालै उपचारका लागि एम्बुलेन्सबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको उनको सचिवालयले जनाएको छ ।

अस्पतालका डाक्टरहरुका अनुसार डा. भण्डारीको शरीरको करिब २५ प्रतिशत र आमाको शरीरको करिब ७० भागमा जलेर असर गरेको छ । घटनापछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरू कीर्तिपुर अस्पताल पुगेका छन् । उनले दुवै जनाको उपचार भइरहेको जानकारी दिएका छन् ।

‘अस्पतालबाट भर्खर फर्किएको छु । ग्यास सिलिण्डर बिष्फोटबाट गम्भीर घाइते नेपाली कांग्रेसका नेता, सांसद चन्द्र भण्डारी र उहाँको ८६ बर्षीया माताको कीर्तिपुर अस्पतालमा उपचार भइरहेकोे छ’, उनले भनेका छन् । उनले दुवै जनाको स्वास्थलाभका लागि कामना समेत गरेका छन् । डा. भण्डारीले बुधबारको संसद बैठकमा करिब १२ मिनेट लामो सम्बोधन गरेका थिए । उनी मंसिर ४ को निर्वाचनमा नेकपा एमालेका प्रदीप ज्ञवालीलाई हराउँदै विजयी भएका हुन् ।

 
 
  
 

You may also like