शनिबारदेखि बुटवलमा नवौं नेशनल प्याब्सन खेलकुद महोत्सव हुँदै

by समतल अनलाइन

बुटवल । निजि तथा आवासिय बिद्यालय एशोसियशन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीले शनिबारदेखि बुटवलमा खेलकुद महोत्सव गर्ने भएको छ । नेशनल प्याब्सन अन्तरगतका बिद्यालयका बिद्यार्थीको अन्तरनिहित खेलप्रतिभालाई बाहिर निकाल्न शनिबार र आइतबार गरि दुई दिन नवौँ नेशनल प्याब्सन खेलकुद महोत्सव २०७९ गर्ने भएको हो ।

शुक्रबार बुटवलमा भएको पत्रकार सम्मेलनमा नेशनल प्याब्सन रुपन्देहीको वार्षिक कार्यक्रम अन्तर्गत जिल्ला भित्रका नेशनल प्याब्सनमा आवद्ध विद्यालयका विद्यार्थीहरुको शारीरिक, बौद्धिक तथा सृजनात्मक क्षमतालाई अभिबृद्धि गर्नका लागि दुई दिने खेलकुद महोत्सव गर्न लागिएको नेशनल प्याब्सनका अध्यक्ष पुरुषोत्तम बस्यालले जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि प्रत्यक वर्ष कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो विगत केही वर्षदेखि कोभिड १९ को कारण खेलकुद कार्यक्रम नियमित हुन नसकेको र यस वर्षदेखि पुनः खेलकुद कार्यक्रमलाई निरन्तरता दिन लागिएको अध्यक्ष बस्यालले बताउनुभयो ।

शनिबारदेखि हुने खेलको सम्पुर्ण तयारी पुरा भएको उहाँले जानकारी दिनुभयो । नवौँ खेलकुद महोत्सवमा सव जुनियर, जुनियर, सिनियर गरि तीन समूहमा विद्यार्थीहरुलाई विभाजन गरि प्रतिस्प्रर्धा गराइने नेशनल प्याब्सनका सहसचिव तथा खेल संयोजक विनोद थापा मगरले जानकारी दिनुभयो । खेल संयोजक थापाका अनुसार एथलेटिक्सका विभिन्न खेलहरु र टेबल टेनिस लगायतका खेल सञ्चालन गरिने छ । खेलकुद कार्यक्रममा सबै समूहतर्फ २९ विद्यालयका १२ सय बढी विद्यार्थीले विभिन्न ४० इभेनटमा प्रतिस्प्रर्धा गर्ने छन् । नेशनल प्याब्सनमा आवद्ध ५७ विद्यालयबाट छनोटमा परेका २९ विद्यालयका १२ सयबढी विद्यार्थीमा सव जुनियरतर्फ २३२ जना, जुनियरतर्फ ३९२ र सिनियरतर्फ ५४० विद्यार्थीले प्रतिस्प्रर्धा गर्ने छन् । सब जुनियर, जुनियर र सिनियर गरी उमेर समूहलाई १५ ईभेन्टमा प्रतियोगिता हुने छ । सब जुनियरमा ५० मिटर, १ सय मिटर, चम्चा दौड, कुर्ची दौड गरी ४ ईभेन्टमा छात्रछात्राका खेल हुने छन् । जुनियरतर्फ १ सय मिटर दौड, २ सय मिटर दौड, रिले दौड, टेबलटेनिस गरी ४ ईभेन्टमा छात्रछात्राका खेलहरु हुने छन् । सिनियरतर्फ २ सय, ४ सय, रिले दौड, सटपुट, हाईजम्प, लङजम्प र टेबलटेनिस गरी ७ ईभेन्टमा छात्रछात्राका खेलहरु हुने छन् । प्रतिस्प्रर्धामा रहेका विभिन्न विद्यालयका विद्यार्थीले ल्याएको अंकका आधारमा प्रथम द्वितीय र तृतिय पुरस्कार प्रदान गरिने संयोजक थापा मगरले जानकारी दिनुभयो । विजेताले शिल्ड, ट्रफि तथा प्रमाणपत्र हात पर्ने उहाँले जानकारी दिनुभयो ।

दुई दिनसम्म चल्ने प्रतियोगिता सम्पन्न गर्नका लागि साढे तीन लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा सहभागिताका लागि सव जुनियर समुहले तीन हजार, जुनियर समुहले पाँच हजार र सिनियर समुहले ७ हजार सहभागिता शुल्क तोकिएको प्रतियोगिताको उद्घाटन नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले गर्ने सचिव बाबुराम बन्जाडेले जानकारी दिनुभयो । नेशनल प्याब्सन रुपन्देहीका उपाध्यक्ष विल गुरुङले स्वागत गर्नु भएको पत्रकार सम्मेलन कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सचिव कृष्णप्रसाद पौडेलले सरकारले गर्ने काम संस्थागत विद्यालयहरुले गरेको उल्लेख गर्दै खेलकुदको क्षेत्रमा ठुलो जनशक्ति उत्पादनमा संस्थागत विद्यालयको योगदान महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले शिक्षासँगै खेलकुदमा ठुलो योगदान दिने संस्थागत विद्यालय र सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई प्रतिस्प्रर्धाका लागि स्थानीय तहले एउटै प्लेटफर्म निर्माण गर्नु पर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सदस्य देउप्रकाश राई, बालाकृष्ण तिवारी, विष्णुप्रसाद पौडेल, केन्द्रीय सल्लाहकार राजु गुरुङ्ग, प्रदेश सहसचिव जेवी क्षेत्री, जिल्ला सल्लाहकार तिलव केसी लगायतले खेलकुद महोत्सवको सफलताको शुभकामना दिनु भएको थियो ।

 
 
  
 

You may also like